कास्की। कास्की जिल्लाको अर्मलाकोट गाउँ पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ। पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा परेको हो।
माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।
यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् ।पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेले जनाएको छ। वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन ।
होमस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने छ । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।
गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको बताइएको छ।