हेटौँडा। २ वर्षअघि स्कुल जाँदै गरेकी साहिँलीमाया ब्लोनकी छोरीलाई चुर्लिङ खोलाको बाढीले बगाउँदा खोला छेउमा रहेका दिलबहादुरले उद्धार गरी बचाएका थिए ।
त्यही वर्ष सिरानचोक बेसीटोल ५ कक्षामा पढ्ने अमिर ब्लोनलाई पनि स्कुल जाने क्रममा चुर्लिङ खोलाले बगायो । खोला नजिकैका घटेराले उनको पनि उद्धार गरे । चुर्लिङ खोलामा पुल नहुँदा वर्षेनि बेसी टोलका बालबालिकाहरु वर्षौंसम्म जोखिम मोलेर स्कुल जान बाध्य थिए ।
खोलामा बाढी आएको बेला खोला तर्न नसकेर सिरानचोक बेसीटोलका विद्यार्थीहरू स्कुल नै जाँदैनथे । यतिसम्म कि स्कुल गएपछि खोलामा बाढी आयो भने पारि नै बास बस्ने गरेका थिए । कहिले पढाइ छाडेरै घर फर्कने गरेका थिए।
खोलामा पुलको अभावले गर्दा बेसीटोलका स्कुल जाने विद्यार्थीका अभिभावकहरु चुर्लिङ खोला ठूलो भएको समयमा छोराछोरीलाई बोकेरै खोला तारिदने गरेका थिए । शुक्रबार झोलुंगे पुल बनेपछि भने यहाँका बालबालिकाहरूलाई स्कुल जान सहज हुने भएको छ । अभिभावकले नै बोकेर खोला तारिदिनुपर्ने बाध्यता अब हटेको छ ।
हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने चुर्लिङ खोलामा शुक्रबारदेखि झोलुंगे पुल संचालनमा आएपछि स्थानीयवासीले यो बाध्यताबाट मुक्ति पाएका हुन् । लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका हेटौंडा १९ सिरानचोक बेसीटोलका बासिन्दा पुल निर्माणसँगै हर्षित भएका छन् । लामो समय पुल निर्माणका लागि धायौं, अहिले बल्ल गाउँलेको आकांक्षा पूरा भएको छ स्थानीय कुमार व्लोनले,’ भने ‘हामी ठूला मान्छे त जोखिम मोलेर खोला तर्दै आएका थियौं, स्कुले नानीहरूलाई ठूलो समस्या थियो । त्यो टर्यो।’
वर्षौंदेखि खोलापारिको विद्यालयमा अध्ययनको लागि खोला तरेर जानुपर्ने बाध्यतामा रहेका हेटौंडा–१९ सिरानचोक बेसीटोलका छात्रछात्रा समस्याबाट मुक्त भएका छन् । पुल निर्माण भएपछि अभिभावकहरुसँगै स्कुले बालबालिका पनि खुसी देखिन्छन् ।
६ कक्षामा अध्ययनरत सुशील मोक्तानले भने, ‘अब चुर्लिङ खोलाले बगाउने डर भएन, पानी परे पनि ढुक्कसँग स्कुल जान पाइने भयो । पहिले पानी परेपछि उनी बाढी आउने डरले स्कुल नै जाँदैनथे भने पढ्दा पढ्दै पानी आयो भने पनि पढाइ नै छाडेर घर आउने गरेको बताए ।
हेटौंडा उपमहानगरपाकिला-१९ सिरोनचोक बेसीटोलका ३५ छात्रछात्राहरु चुर्लिङ खोला तरेर राक्सिराङ्ग गाउँपालिका–१ दुङ्गोभञ्ज्याङस्थित कालिका आधारभूत विद्यालयका पढ्न जाने गरेका छन् ।
झोलुंगे पुल बनेसँगै उनीहरू अब स्कुल जान सजिलो हुने भएकोमा खुसी देखिएको वडाध्यक्ष नरनाथ सुवेदीले बताए । सिरानचोक बेसीटोल हेटौंडा उपमहानगरपालिकाको दुर्गम क्षेत्र पनि मानिन्छ ।
जहाँका बासिन्दालाई खोला तर्न सहज होस् भनी हेटौंडा उपमहानगरपालिकाले संघीय ससर्त अनुदान मार्फत ७४ मिटर लामो झोलुंगे पुल ३८ लाख रुपैयाँमा निर्माण गरेको हो । यद्यपि २०७६ सालमा डीपीआर स्वीकृत भई २०७७ सालमा आएको बजेट कार्यान्वयनमा ल्याउन नसक्दा ठूलो पीडा भोग्नुपरेको स्थानीयहरू बताउँछन् ।
दुई पालिका जोड्ने झोलुंगे पुलको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका थिए । पुलबाट दुई पालिकाका ५ हजार स्थानीय लाभान्वित हुने वडाध्यक्ष सुवेदीले बताए । कान्तिपुरबाट