काठमाडौं। सरकारले आफ्ना इन्जिनियरहरुलाइ सुरुङमार्ग सम्वन्धी तालिम दिन सुरु गरेको छ। पहिलो चरणमा बुधबार, बिहिबार र शुक्रबार गरि तीन दिन १५ जना इन्जिनियरलाइ तालिम दिएर सुरु गरेको हो।
पहिलो र दोस्रो दिन सुरुङमार्गको डिजाइनसम्वन्धी पढाएको र तेस्रो दिन फिल्डमै लगेर देखाइएको गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख डा.विजय जैसीले जानकारी दिएका छन्। थ्यौरी पढाएपछि कसरी काम हुन्छ भनेर फिल्डमा पनि देखाउँने साथै उनीहरुले सुरुङमार्गको आधारभुत जानकारी पाउन भन्ने उद्देश्यले सो तालिम सुरु गरेको उनको भनाइ रहेको छ। त्यसैगरी दोस्रो १५ टिमलाइ मंसिरको तेस्रो साताबाट तालिम दिन लागिएको छ। विभिन्न चरणमा आधारभूत तालिम दिइने भएको छ।
सडक विभागमा करिव ५ सय जना इन्जिनियरहरु कार्यरत रहेका छन्। तीमध्ये करिव २ सय जनालाइ आधारभूत तालिम दिने योजना बनाइएको छ भने करिव ४० जनालाइ एडभान्स तालिम दिने योजना रहेको छ। सुरुङमार्ग निर्माणका लागि जनशक्ती नै नभएको तर सुरुङमार्गका आयोजना पाइपलाइन रहेको हुनाले जनशक्ती तयार पार्ने उद्देश्य सो तालिमको रहेको छ। विदेशीबाट मात्र गराएर साध्य नलाग्ने भएकाले आयोजना मात्र निर्माण गर्ने होइन हाम्रा इन्जिनियर पनि सक्षम हुनुपर्छ भनेर तालिम सुरु गरेका उनको भनाइ रहेको छ। हाल नागढुङगामा आयोजना बनिरहेको छ।
सरकारले २४ वटा सुरुङमार्ग पहिचान गरेर निर्माण गर्ने योजना बनाएको छ। सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती, टोखा–छहरे–गुर्जुभन्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट, हेम्जा–नयाँ पुल, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर, थानकोट–चित्लाङ, नयाँ बानेश्वर (अण्डरपास), प्रवास–जोर्ते, गौशाला (अण्डरपास) रसुवागढी–वेत्रावती, बिपीनगर–खुटिया, गोदावरी–मानचौर, सुनमाई–राजदुवोल गरि १८ सुरुङमार्गका योजना अघि बढाएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत पुनःप्राथमिकीकरण गरेर ७ वटा सुरुङमार्गका योजना थपेका छन्। बबई–छिन्चु, ताथली–वीओपी, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फुर्सेखोला–छारेपाटन–स्याङजा गुडीखोला, बागलुङ–नरेठाँटी, रारा राजमार्गको ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला गरि सात वटा सुरुङमार्ग थपेका हुन्। जसमध्ये पाल्पाको सिद्धबाबामा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि बोलपत्र आव्हान भैसकेको छ। जसमा आवेदन दिएका ९ कम्पनीको अन्तिम मुल्याङकन चलिरहेको जैसीले बताएका छन्।
निर्माणको जिम्मा पाउने कम्पनीले ५ बर्षमा इन्जिनियरिङ प्रोक्यरमेन्ट (कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नुपर्नेछ। १० अर्ब खर्चेर निर्माण गर्न लागिएको यो सुरुङमार्ग सरकारले आफ्नै स्रोतबाट पहिलोपटक निर्माण गर्न लागेको हो। दोलखाको लामाबगर –लाम्चे सुरुङमार्गको बेसलाइन सर्भे सकिएको छ। जसको बिडिङ डकुमेन्ट तयार भैरहेको छ। सरकारले अघि बढाउन ग्रीन सिंगनल दिए अर्थ मन्त्रालयलबाट स्रोत सुनिश्चितता लिएर अघि बढाउने तयारी भैरहेको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताएका छन्।
साढे दुइ अर्ब रुपैया लागत अनुमान गरिएको यो सुरुङमार्ग ३ बर्षमा सक्ने योजना छ। दुइ र तीनवटा बाहेकका योजनाको अध्ययनको कामै अघि बढेको छैन्। बाकीमा अध्ययन अघि बढाउने प्रक्रिया सुरु गर्ने तयारी भएको छ। जनशक्ति तयार पार्ने भन्दै गुणस्तर तथा अनुसन्धान विकास केन्द्रको समन्वयमा तालिम सुरु गरिएको हो। त्यसका लागि नागढुङगा –नौविसे सुरुङमार्ग आयोजनाले फिल्डमा सहयोग गरेको छ भने पुल्चोक इन्जिनियरिङ अन्तर्गतको कन्टिन्युअस एजुकेसन डिभिजन र जिओ सोसाइटीको समेत सहयोग गरेका छन्।
सडक विभागको मात्रै नभइ मन्त्रालय, अन्य विभाग सहित नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधीलाइ समेत तालिम दिइने उनले बताएका छन्। त्यसका लागि निर्माण व्यवसायी महासंघलाइ छिट्टै पत्राचार गरिने उनको भनाइ रहेको छ। सडक विभागले यस अघि नै तालिम दिने योजना बनाएको थियो तर कोरोना भाइरसका कारण सुरु हुन सकेको थिएन्। त्यसपश्चात तिहार लगत्तै सुरु गर्ने योजनामा विभाग थियो। सोही अनुसार तालिम संचालन गरिएको हो।