सिन्धुपाल्चोक। मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई वर्षपछि बेलिब्रिज जोडिँएको छ। दुई वर्षपछि बेलिब्रिज जोडिँदा तीनवटा स्थानीय तहका समुदायमा खुसी फर्किएको छ । मेलम्ची नगरसहित पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाको जनजीवनको ‘लाइफलाइन’ मानिने यो पुल मेलम्ची बाढीले बगाएयता स्थानीयले सहजसँग आउजाउ गर्न पाएका थिएनन् ।
यसअघि ह्युमपाइप राखेर अस्थायी सडक बनाइए पनि बाढीले समयसमयमा बगाउने र जोखिमपूर्ण हुने भएपछि स्थानीय आजित थिए । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार नेपाली सेनाले बेलिब्रिज हालिदिएपछि हजारौं स्थानीय लाभान्वित भएका छन् । नेपाली सेनाले १५ दिन लगाएर जडान गरेको यो पुलको लम्बाई ६७ दशमलव ७० मिटर र चौडाई ४ दशमलव २ मिटर छ । यो पुलको नाम प्यानल ब्रिज (एमपीबी) राखिएको र यो ट्रिप सिंगल रिइन्फोर्स टीएसआर–३ मोडेलको बेलिब्रिज रहेको उनले बताए ।
बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा कालो लेदो गेग्रानले भरिएका थिए । जसमा मेलम्ची नगरभरका एक सय ८० बाढीपीडित परिवारमध्ये अधिकांशले पुरिएका कालो लेदो, माटो, गेग्रान खोतलेर फाल्दै सरसफाइ गर्ने र बस्नयोग्य बनाएका छन् । यहाँका होटेल, घर पुरानै अवस्थामा फर्काइएको र बेलिब्रिज निर्माणले स्थानीयमा खुसी फर्किएको स्थानीय अगुवा कुमार दुलाले बताए ।
‘दुई वर्षपछि बल्ल खुसी फर्किएको छ, यहाँ पुल नबन्दा पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका जाने बाटो घण्टौंको यात्रामा बदलिएको थियो, अब पुल बनेपछि यात्रा पहिलेझैं सहज भएको छ, स्थानीयले पुल सम्पन्न हुँदा पर्वझैं मनाएका छन्,’ दुलालले भने । उनका अनुसार मेलम्ची बजारमा २५ पीडित परिवार अझै भाडामा बस्दै आएका छन् । बेलिब्रिज बनेसँगै दुर्गम स्थानीय तहमा गनिने पाँचपोखरी थाङपालसहित मेलम्ची नगर र हेलम्बुलाई जिल्लाको सदरमुकाम चौतारा पुग्न छोटो यात्रा भएको उनले जनाए ।
बेलिब्रिज बने पनि पुनः बाढी आउन सक्ने विज्ञको चेतावनीपछि तटीय क्षेत्रका स्थानीय झनै त्रसित छन् । प्रदेश र स्थानीय तहबाट विनियोजित धेरथोर रकम पनि मेलम्ची बाढी नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक निर्माणमा प्रयोग भएर सकिएका छन् ।
यसअघि हेलम्बुको चनौटेमा बेलिब्रिज जोडिएको थियो । यसपछि देखिने काम यही मेलम्चीको बेलिब्रिज हो । यीबाहेक यहाँ अन्य उल्लेख्य भौतिक पूर्वाधार संरचना निर्माण कार्य यहाँ भएका देखिँदैन । घटनास्थल आएर आश्वासन बाँडेर पीडितलाई आस मात्रै देखाएको भन्दै संघीय र प्रदेश सरकारप्रति बाढी प्रभावित क्षेत्रका स्थानीय र जनप्रतिनिधि निराश देखिएका छन् । कान्तिपुरबाट