लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको सम्भावना र अवसरबारे प्रारम्भिक छलफल गरिएको छ । निजी क्षेत्रबाट लगानी हुनसक्ने क्षेत्रको पहिचान गरी यसको सम्भावना, अवसर र चुनौतिबारे छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सहयोग र समन्वय गर्न सक्ने हिसावले निजी क्षेत्रले गर्न सक्ने विकास, यसको सम्भावना, अवसर र चुनौतिबारे गाउँपालिकामा छलफल गरिएको हो ।गाउँपालिकामा जलविद्युत आयोजना, रिसोर्ट, जिपलाइन, स्वीइङ, प्याराग्लाइडिङको सम्भावना रहेको कार्यपत्र गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रस्तुत गरेका थिए ।
उच्च क्षेत्रसम्म सडक पूराउने र तल्लो क्षेत्रमा पकेट घोषणा गरी तरकारी र फलफूलको व्यावसायिक खेती, सागबाट गुन्द्रुक, फलफूलको जुस, बनजइन् उत्पादनको अचार उद्योग सञ्चालन गर्न सकिने सम्भावना रहेको गुरुङले बताए । कृषि संकलन केन्द्रलाई व्यवस्थित तरिकाले सञ्चाल गर्ने, समर्थन मुल्य निर्धाण, मासिक कृषि हाटबजार सञ्चालन गर्न सकिने, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सकिने कार्यपत्रमा उल्लेख छ । कंक्रिट उद्योग, क्रसर, पेट्रोल पम्प, पानी उद्योग, प्लाइ उड उद्योग, बहुमुल्य काठको बृक्षरोपण समेत मर्स्याङ्दी गाउँपालिकामा गर्न सकिने उनले बताए ।
यस क्षेत्रमा निजी क्षेत्रले फाइदा लिने गरी विकास गर्नको लागि लगानीको अभाव, अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । युवा शक्ति विदेश गइरहेको अवस्थामा युवालाई गाउँमै अवसर दिनका लागि निजी क्षेत्रको आवश्यकता महसुस गरी यसलाई छलफलमा ल्याइएको अध्यक्ष गुरुङले बताए ।
मस्र्याङ्दी ग्रुपको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने, उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्ने, सम्भावना र अवसरहरुको पहिचान गर्दै उचित व्यवस्थापन सहित एक पछि अर्को व्यवसाय सुरु गर्ने र यसमा स्वदेश, अन्य सहर अनि वैदेशिक रोजगारमा रहेका मस्र्याङ्दी गाउँपालिकाका नागरिकलाई अवसर दिइने भएको छ । ग्रुपले किचे खोला जलविद्युत आयोजना, पेट्रोल पम्प, जडिबुटी प्रशोधन केन्द्र, तरकारी, फलफूल, नगदेबाली, जटिबुटिको फार्मिङ, रिसोर्ट, जिपलाइन, स्विइङ, तातोपानी कुण्डलाई तत्काल गर्न सकिने गरी छलफल गरेको छ । यसमा लगानी गर्न मस्र्याङ्दी ग्रुपको बास्केट फन्डमा रकम राखेर फरक–फरक व्यावसायमा लगानी गर्न सकिने र लगानीको न्युनमत र अधिकतम सीमा निर्धारण गरेर लगानी गर्न सकिने गरी छलफल अघि बढाइएको छ ।
गाउँपालिमा आयोजना गरिएको भेलाले हाललाई संयोजनकारी भूमिकाको लागि गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । सदस्यमा कृष्ण बि.क. मर्स्याङ्दी २, प्रेमबहादुर बस्नेत मर्स्याङ्दी ३, महेन्द्र थापा, मर्स्याङ्दी ४, धनश्याम घले मर्स्याङ्दी ५, विनोद गुरुङ मर्स्याङ्दी ६, यूवा घले मर्स्याङ्दी ७, नन्दराज तामाङ मर्स्याङ्दी ८, विकास घिमिरे मर्स्याङ्दी ९, अजय तामाङ मर्स्याङ्दी ७, मेघराज तामाङ मर्स्याङ्दी ३, टिकाराम भण्डारी मर्स्याङ्दी ३ र नन्दराज गुरुङ मर्स्याङ्दी ७ रहेका छन् ।
गाउँपालिकाभित्रका व्यावसायी, युवा, बुद्धिजीविलगायतको बेलाले यस ग्रुपमा सहभागी हुन १ साताभित्र जानकारी गराउनुपर्ने निर्णय गरिएको छ । आवश्यकता अनुसार कम्पनी दर्ता गर्न, दक्षता र ईच्छाशक्तिको आधारमा सञ्चालक समितिहरु गठन गर्न र आवश्यक प्रक्रियाहरु अगाडि बढाउन तदर्थ समितिलाई जिम्मा दिइएको छ ।
तत्काल काम अगाडी बढाउन मर्स्याङ्दी ग्रुपमा सहभागी सदस्यहरुले २५ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ । आर्थिक कारोवारलाई सहज बनाउन तत्कालको लागि गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, यूवा घले र नन्दराज तामाङको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरि हिमालयन बैंक लिमिटेड भुलभुले शाखामा खाता खोल्ने र सोही खाता मार्फत कारोवार गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।