काठमाडौं। लमजुङको दोर्दी गाउँपालिका ८, बन्सार हिलेबजारका बाढी प्रभावितलाई लमजुङ समाज युकेले सहयोग गरेको छ। लमजुङ घर भई बेलायतमा बसोबास गर्दैआएका आबद्ध रहेको समाजले बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माणका लागि १४ लाख १६ हजार ४२ रुपियाँ सहयोग प्रदान गरेको हो।
समाजका अध्यक्ष विश्वजङ्ग गुरुङको निर्देशनमा संकलन गरिएको सो रकम शनिबार प्रभावित क्षेत्रमै पुगेर प्रदान गरिएको हो। तटबन्ध निर्माणका लागि आर्थिक सङ्कलन अभियानका संयोजक एवं समाजका वरिष्ठ सल्लाहकार, सह–संयोजक, समाजका वरिष्ठ सल्लाहकार क्याप्टेन , समाजका सांस्कृतिक विभाग सचिवलगायतले दोर्दी ८ को विपद् व्यवस्थापन समितिका संयोजक एवं वडाध्यक्ष तुलबहादुर घलेलाई चेक हस्तान्तरण गरेका हुन्।
लमजुङ समाज युकेले प्रदान गरेको रकम तटबन्ध निर्माणमा खर्चिने वडाध्यक्ष घलेले जानकारी दिएका छन्। सो सहयोगले बाढी प्रभावित हिलेबजारको संरक्षणमा सघाउ पुग्ने उनले बताएका छन्। बाढी प्रभावितलाई सहयोग नआइरहेको अवस्थामा लमजुङ समाज युकेले गरेको सहयोगप्रति वडाध्यक्षले धन्यावाद ज्ञापन गरेका छन्।
आर्थिक सङ्कलन अभियानका संयोजकले बाढी प्रभावित क्षेत्रको बारेमा आएका विभिन्न समाचार देखेपछि सहयोग सङ्कलनका लागि अघि बढेको बताएका छन्। प्रभावित क्षेत्रमै आएर जानकारी पाउँदा र अवस्था बुझ्दा निकै दुःख लागेको भन्दै तटबन्ध निर्माण गरी बस्ती जोगाउनको लागि आर्थिक सङ्कलन गरिएको उनले जनाएका छन्। त्यसैगरी हिलेबजारको संरक्षणका लागि दोर्दीखोलामा चौडाई र उचाई ३–३ मिटरको र लम्बाइ ७३ मिटरको ग्याबिन जाली हालिने भएको छ।
अभियानका सहसंयोजकले बेलायतमा रहेका विभिन्न संस्था र १ सय ६८ जनाबाट सङ्कलन गरिएको रकम प्रदान गरिएको जनाएका छन्। तटबन्ध निर्माण पछि कुनै डरविना ढुक्कसँग बस्ने वातावरण मिल्ने उनको भनाई छ। अन्य राहतभन्दा पनि वस्ती संरक्षणमा लमजुङ समाज युकेले जोड गरेको हो। लमजुङका समाजसेवी मनिप्रसाद गुरुङले लमजुङ समाज युकेले गर्दै आएको काम प्रशंसा गर्न योग्य रहको जानकारी गराएका छन्। शिक्षा, स्वास्थ्य, विपद्, बाटो लगायतको क्षेत्रमा सहयोग गर्दैआएकाले नागरिकलाई सहज बनाएको उनले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन्। बस्ती संरक्षणका लागि बेलायतबाट सहयोग आएपछि केही हौसला बढेको तटबन्ध निर्माण समितिका अध्यक्ष सागर गुरुङले जनाएका छन्।