स्याङ्जा। पोखरा एयरपोर्ट पछाडि गण्डकीकै सबैभन्दा ठुलो हेलिप्याड निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। अर्जुन चौपारीमा गाउँपालिका १ बजारमा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको हो।
नेपाल आर्मी समरजीत गुल्मको प्राविधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक व्यवथापनमा निर्माण भएको हेलिप्याड गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले हस्तान्तरण गरे।
जोखिमका बेला उद्धारमा टेवा पुर्याउनका लागि आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए। पहुँचबाट बाहिर रहेकालाई विपदमा उद्धार गर्ने र आर्मीको नागरिकसँग सम्बन्ध सुमधुर बनाउन हेलिप्याडमा पालिकासँग सहकार्य गरिएको सुरक्षा समितिका प्रमुख सिडियो शशिधर घिमिरेले बताए।
पालिकाको तप्तरताले जिल्लामा पहिलो हेलिप्याड बनेको बताउँदै घिमिरेले अन्य ठाउँमा आवश्यकता भए आर्मीले सहयोग गर्ने बताए। नेपा आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा दैनिक २० जनाको श्रमदानमा २० दिनमा हेलिप्याड निर्माण सकिएको हो ।
सात लाख ३३ हजार ४५९ रुपियाँको लागतमा निर्माण भएको हेलिप्याड आर्मीको ज्याला सहयोग एक लाख २७ हजार ७५० रुपियाँ बराबरको श्रमदान र र १८ हजार बराबर रङ्गरोगनमा आर्मीको सहयोग रहेको छ । पालिकाले समाग्री(ढुङ्गा, बालुवा, सिमेन्ट) तीन लाख ३४ हजार ८५ रुपियाँ, मिक्चर ३६ हजार, ब्याकु लोडर तथा टयाक्टर एक लाख, रङ्गरोन ७१ हजार १७१ र ३६ हजार ६५५ हजार रुपियाँ खाजामा खर्च भएको छ ।
हेलीप्याड निर्माणमा पालिकाको ब्याकु लोडर तथा टयाक्टर, खोलाको ढुङ्गा, बालुवा जोड्दा खर्च धेरै देखिए पनि यथार्थमा थोरै खर्च रहेको छ । ६०/६० फिट लम्बाइ र चौडाइको तथा डेढ फुट ढलान हेलिप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेकामध्ये सबैभन्दा ठुलो हो ।