सल्यान। कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सल्यानको खलंगा–बालुवासंग्रही सडक खण्ड अन्तर्गत बन्गाड कुपिण्डे नगरपालिका ९ ज्यमिरेदेखि बाविया चौरसम्मको कालोपत्रे एक साता नबित्दै उक्किएको छ । वर्षातको समयमा निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गर्नुका साथै काममा लापर्बाही गर्दा कालोपत्रे एक साता नबित्दै उक्किएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।
सडक डिभिजन कार्यालय दाङले डेढ किलोमिटर कालोपत्रे गर्न २०७७ मा १ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सडक ६ महिनामा सम्पन्न गर्ने भन्दै कालोपत्रे गर्ने जिम्मेवारी प्राकृतिक निसान जेभीले पाएको थियो । २०७७ असार ७ गते डिभिजन कार्यालयसँग निर्माण कम्पनीले सम्झौता गरेको थियो । झन्डै दुई वर्षजति अलपत्र परेको उक्त सडक ठेकेदार कम्पनीले २०८० असार अन्तिममा मात्रै कालोपत्रे गरेको थियो ।
पानीले भिजेको सडक राम्रोसँग नसम्याई हतारहतार काम गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण उक्किएको स्थानीय बादी बुढाथोकीले बताए । ठेकेदारले अलकत्र पनि आवस्यकता अनुसार प्रयोग नगरेको र रोलर पनि धेरै नलगाएकाले हातले तान्दा र खुट्टाले घोट्दा पिच सबै उक्किने गरेको उनी बताउँछन् ।
‘यसमा ठेकेदार कम्पनीसँगै सम्बन्धित कार्यालयको पनि लापर्बाही छ । एक पटक प्राविधिक आएको देखिएन,’ उनले भने ‘मापदण्डविपरीत गुणस्तरहीन काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनु पर्छ’ ।
असारको अन्तिममा काम गरे जस्तो देखाएर भुक्तानी लिने उद्देश्यले ठेकेदार कम्पनीले जमिनको माटो सुक्न नदिएर हतारहतार काम सक्नो खोज्दा सडक चिसै भएर पिच उक्किएको बावियाचौरका स्थानीय बाशुदेव आचार्यले गुनासो गरे । ठूलो वर्षा भएमा कालोपत्रे सबै बगाउने भन्दै उनले चिन्ता गरे ।
वर्षातले गर्दा सडक भिजेको र पानी जमेको समयमा कालोपत्रे धेरै टिक्दैन अहिले काम नगर्नु भन्दा ठेकेदारले काम सिध्याउन जबर्जस्ती गरे । मापदण्ड अनुसारका सामग्री नभएकै कारण पिच छोटो समयमै उक्किएको देखिन्छु बन्गाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुलबहादुर पुरीले बताए ।
१ हजार ५ सय मिटर कालापत्रे गर्नुपर्नेमा १ हजार ३ सय ५० मिटर कालोपत्रे गरेकोमा अहिले सिधा सडकमा मात्र कालोपत्रे टिकेको र ठाडो तथा घुम्तीमा सबै उक्किएको उनले बताए । ‘म वडा अध्यक्ष भएको नाताले बारम्बार ताकेता गरेको थिएँ । तर ठेकेदारले मन्त्रीले उद्घाटन गर्ने भनेका छन् भनी हतारहतार सडक चिसो हुँदैमा धुलो नहटाई काम गरे । त्यसैको परिणाम हो यो,’ उनले भने ‘एकातिर नाला पनि नभएको र अर्कोतिर ठूलो वर्षात भएमा पानी सडकबाटै बग्ने भएकाले कालापत्रे कत्ति रहनेछैन’ ।
कालापत्रे गरेको केही दिनमै उक्किएपछि सम्बन्धित निकायमा जानकारी गराएको तर ुमन्त्रीको पावरु देखाएपछि कारबाहीका लागि कतै उजुरी नदिएको उनको भनाइ छ ।
ढिलै भए पनि कालोपत्रे हुन थालेपछि खुसी भएका स्थानीय मित्रलाल बुढा ठेकेदारले देखावटी काम गरेर जनता र सम्बन्धित निकायको आँखामा छारो हाल्ने काम मात्र गरेको र आर्थिक वर्षको अन्तिममा आएर रकम फर्स्योट रोक्न मात्र काम गरेको बताए ।
‘सडकको बीचको भागमा हातले कालापत्रे कोटयाउँदा समेत प्वाक प्वाक उक्किन्छ भने छेउछाउमा कस्तो काम गरे होलान्,’ उनले भने ।
सडक डिभिजन कार्यालय दाङका इन्जिनीयर रिकेश महर्जनले कालोपत्रे उक्किएको बारेमा आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । साथै निर्माणपछि निर्माणस्थलमा पुगेर आफूले अवलोकन नगरेको उनको भनाइ छ ।
प्राकृतिक निसान जेभीका ठेकेदार डिल्ली केसीले भने केही स्थानमा पानी जम्ने भएकाले चिसोका कारण कालापत्रे उक्किएको बताए । उक्किएको स्थानमा भने पुनस् काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मैले पहिलेदेखि नै पिचको तयारीको काम गरिरहेको थिएँ । सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको मैले थाहा पाइनँ । गरिरहेको कामलाई बीचैमा छाड्न नमिल्ने भएकाले कालापत्रे गरेको हुँ,’ उनले भने । कान्तिपुरबाट