काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेलको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
उनले भने, ‘मुलुकको आर्थिक समुन्नती र व्यापार व्यवसाय प्रवद्र्धनका लागि रेलवेको महत्वपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध छ।’
मन्त्री ज्वालाले रेलको शुभारम्भसँगै मुलुकले यातायात क्षेत्रमा फड्को मारेको बताए। विजलपुरापछि छिटै बर्दिबाससम्म र त्यसपछि रौतहटको निजगढसम्म रेल विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए। निजगढ–काठमाडौं रेल सञ्चालनका लागि समेत डीपीआर तयार भइसकेकाले रेलको माध्यमबाट त्रिदेशीय सम्वन्ध सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए।
भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको आइतबार उद्घाटन भएको हो।
यस खण्डको निर्माण सम्पन्न भइसकेपछि इरकनका महाप्रवन्धक दीपककुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झालाई गत जेठ १८ गते रेलवे ट्रयाक हस्तान्तरण गरेपछि रेल्वे सेवा विस्तारको प्रवन्ध मिलाइएको थियो । उद्घाटनपछि जयनगर–जनकपुर–विजलपुरा ५२ किमी क्षेत्रमा विधिवत रेलवे सेवा सञ्चालन भएको हो ।
मन्त्री ज्वालाले हरियो झण्डा फहराएर सङ्केत गरेपछि ३१ वर्षपछि विजलपुराबाट जनकपुरका लागि यो रेल गुड्न थालेपछि स्थानीयले ताली पिटेर खुसी प्रकट गरेका थिए । रेल्वे विभागका महाप्रवन्धक रोहितकुमार विसुरालका अनुसार राणाकालदेखि सञ्चालित तत्कालीन न्यारोगेजको यो रेलको रातु खोलाले ट्रयाक र पुल बगाएपछि २०५९ देखि सेवा वन्द रहेको थियो ।
इष्टिम इन्जनमा चल्ने त्यसबेला यो रेललाई नेपाल जनकपुर–जयनगर रेल्वे अर्थात छोटकरीमा एनजेजेआर नामकरण गरिएको थियो । यस रुटमा हाल दैनिक सेवा सञ्चालन गरिने महाप्रवन्धक झाले बताए। जनकपुर–कुर्था ३५ किमि रेलमार्गमा भने २०७८ चैत २० गतेदेखि रेल सेवा सञ्चालित भएको थियो ।
यस रुटको सोही वर्षको चैत १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाट गरेका थिए।