काठमाडौँ। पूजा सामग्रीमा विदेशी निर्भरता घटाउन झापाको कमल गाउँपालिका–६ मा स्थानीय युवाको लगानीमा दिव्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालन भएको छ। डेढ वर्षअघि रु ३० लाखको प्रारम्भिक लगानीमा सुरु गरिएको उद्योगले कोभिड–१९ को चुनौती खेप्दै हाल प्रदेश नं १ को बजारमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ।
कम्पनीले पवित्र सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, सप्तमृतिलगायतका पूजा सामग्री उत्पादन गरिरहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले जानकारी दिए। यसअघि हरेक पूजा सामग्री भारतबाट आयातित हुने गरेको र स्वदेशी उत्पादन सडेर जाने गरेको देखेपछि स्थानीयवासीले रोजगारी समेत पाउने गरी उद्योग स्थापना गरिएको पोखरेलले बताए।
यस उद्योगमा दर्जनौं महिला तथा पुरुषले रोजगारी पाइरहेका छन्। पूजा सामग्रीमा प्रयोग हुने कच्चा सामग्रीको उत्पादन गर्ने किसान लाभान्वित भइरहेका छन्। दैनिक पूजापाठ, धार्मिक कार्यक्रम र संस्कारजन्य कार्यमा प्रयोग हुने दुबो, आँक, बेलपात, कुश, हवनका सामान, धूप, बत्ती जस्ता जताततै पाउन सकिने सामान समेत भारतबाट आयात हुने हुँदा बर्सेनि अबौं रुपैयाँ विदेश गइरहेको उद्योगका अध्यक्ष यज्ञप्रसाद आचार्य बताए।
“हर्रोबर्रो, बेलको दानाको बोक्रा, ओखर जस्ता सामान मात्र होइन, तेल, घिउ, जौलगायत पनि भारतबाटै आयात हुने गरेको थियो”, उद्योगका अध्यक्ष आचार्यले भने , “हवन, यज्ञ र नित्य पूजापाठ आयातमा बर्सेनि अबौं रकम विदेश पठाउनु हाम्रा लागि दुर्भाग्य हो। त्यही सोचेर हामी युवाहरु मिलेर पूजा सामग्री उत्पादन गर्ने उद्योग खोलेका हौं।”
उद्योगले पहाड तथा मधेसका किसानबाट कच्चा सामग्री उचित मूल्यमा खरिद गरेर ल्याउने गरेको छ भने महिलालाई घरै बसेर आयआर्जन हुनेगरी बत्ती काट्ने, धूप बनाउने जस्ता रोजगारीका अवसर प्रदान गरिरहेको छ।