मुगु। बाढीका कारण मुगुको छायाँनाथ रारा नगरपालिकास्थित स्थानीय जलविद्युत आयोजनामा क्षति पुगेको छ। भारी वर्षासँगै गमखोलाबाट बालुवा, लेदो, बगेर गमगाढ जलविद्युत आयोजनाको नहरको पानी बग्न समस्या उत्पन्न भई विद्युत सेवा अवरुद्ध भएको हो।
विद्युत सेवा अवरुद्ध हुँदा तीन हजार परिवार रहेको सिंगो बस्ती नै एक सातादेखि अन्धकारमय बनेको छ ।
गमगाढ खोलाबाट बगेर आएको लेदो र बालुवा विद्युतको नहरमा पसेर विद्युत सेवा अवरुद्ध भएको गमगाढ जलविद्युत आयोजना वितरण केन्द्रले जनाएको छ। दिउँसो नहर सफा गरे पनि राति लेदो र बालुवा भरिएर फेरि समस्या उत्पन्न हुने गरेको छ ।
एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजार, कार्कीबाडा, भामबाडा, ढुम, श्रीनगर, पिना, ताल्च, बालै, रुघा, थार्प, लगायत दुई दर्जन बस्ती प्रभावित बनेका छन् ।
विद्युत नहुँदा सरकारी तथा गैरसैरकारी कार्यालय साथै अन्य वित्तीय संस्थाको नियमित कामकाज गर्न पनि कठिनाइ भएको छ । विद्युत अभाव हुँदा स्थानीयहरू पैसा तिरेर जेनेरेटरबाट मोबाइल चार्ज गर्न बाध्य भएका छन् ।
२०६८ साल देखि संचालनमा आएको ४ सय किलो वाटको गमगाढ जलविद्युत हरेक बर्खामा अवरुद्ध हुने गरेको छ । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले उक्त जलविद्युत आयोजनालाई क्षतिग्रस्त बनाएको हो ।