काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ४ वटा कम्पनी सर्टलिष्ट गरेको छ। प्राधिकरणले आवेदन दिएका ८ कम्पनीमध्ये ४ वटालाई सर्टलिष्ट गरेको हो।
प्राधिकरणले सर्टलिष्ट गरेको कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम रहेका छन्। प्राधिकरणले आशयपत्र बुझाउँन दिएको समयमा ८ वटा कम्पनीले आशयपत्र बुझाएका थिए।
प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको हो। २०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो। त्यत्ति बेला २० वटा कम्पनीहरुले प्रस्ताव पेश गरेका थिए। कम्पनीहरुले पेश गरेको विवरणहरुलाई अनुभव, योग्यता र क्षमतालाई आधार मानेर आशयपत्रहरु मूल्यांकन गर्दा प्राधिकरणले कुनै कम्पनी योग्य नपाएपछि सबै प्रक्रिया खारेज गरेको थियो।
हाल नेपाली इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, रेडियो तथा टेलिभिजनहरुले विदेशी सेटलाइट प्रयोग गरिरहेका छन्। सेटलाइट प्रयोगवापत् नेपाली कम्पनीहरुले वार्षिक अर्बौं रुपैयाँ सेटलाइट भाडाबापत् तिरिरहेका छन्। दूरसञ्चार सेवाका लागि स्वदेशी सेटलाइट भए यसका लागि नेपालबाट बर्सेनि अर्बौं रुपैयाँ बाहिरिने क्रम घट्ने अपेक्षा राखिएको छ।
आशयपत्र माग्दा २०७३ मा सेटलाइट जडानको अनुमानित लागत करिब ३० अर्ब रुपैयाँ रहेको थियो। सेटलाइट लञ्च पछिको १५ वर्ष सेटेलाइट सञ्चालन र मर्मतका लागि अतिरिक्त ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। सो सेटलाइटको प्रयोग नेपाली दूरसञ्चार सेवा प्रदायक, रेडियो तथा टेलिभिजनले गर्ने सरकारको योजना रहेको थियो।
तर, २०७३ सालदेखि २०७७ सम्म सेटलाइटको प्रविधिमा धेरै परिवर्तन आइसकेको भन्दै प्राधिकरणले २०७७ मंसिरमा ठेक्का प्रक्रिया खारेज गरेको थियो। खारेज गरेको १० दिनपछि अर्थात् २०७७ पुस १ मा प्राधिकरणले नयाँ प्रक्रिया थाल्दै आशयपत्र माग गरेको हो।