कर्णाली। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ। आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो।
आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ। रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने आयोजना प्रमुख रविकुमार चौधरीले बताए।
“आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो”, उनले भने। निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उनको भनाइ थियो।
आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्ने भएपनि अहिलेसम्म रुख कटान सुरु भएको छैन। विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम सुरु गरेको हो।
रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जङ्गल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ। हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ। लगभग ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नुपर्नेछ।
“अबको १० महिनाभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्छ”, आयोजना प्रमुख चौधरीले भने, “रुख कटानमा ढिलाइ भए प्रसारण लाइन निर्माणको अवधि लम्बिन सक्छ।” उनका अनुसार विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुङ्गो लागिसकेको छ।
विसं २०४५ मा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनका कारण हाल कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रूपमा छ। भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै पोल ढल्नेजस्ता समस्याले यहाँका उपभोक्ताले हैरानी खेप्नुपरेको छ। यो आयोजना निर्माण भएमा उक्त समस्या हट्ने कर्णालीवासीले अपेक्षा गरेका छन्।
प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ। प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर तोकिएको छ। आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुङ्गिनेछ।