कैलाली। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले सदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ। निर्माण व्यवसायीहरुका समस्याबारे ध्यानाकर्षण गराउँदै महासंघका अध्यक्ष लक्ष्मण् कु.स्वाँरले ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष श्री प्रकाश बहादुर सेठी, केन्द्रीय सदस्य दिनेश सिंह, यमुना भट्ट, प्रदेश महासचिव खेमराज जोशी, निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेक ब.मल्ल लगायतका निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो।
आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको तालिका अनुसार ९ गते महासंघका मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई र ७७ जिल्ला संघहरूले जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन्।
सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग सहित नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनरत छ । अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुअकरको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ ।