काठमाडौं। आधुनिक सहरी सडक निर्माण कार्यले एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति गरेको छ। २४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असार मा गरिएको सम्झौताअनुसार साउनबाटै काम सुरु भए पनि २०७७ कात्तिकसम्म भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै गरेको छ।
११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गरी कैलालीको दुई र कञ्चनपुरको दुई स्थानीय तहमा क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ।
संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले धनगढी उपमहानगरपालिकामा पहिलो चरणका निर्माण गर्न थालिएको सडको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको जनाएको छ।
धनगढीमा कालिका कन्ट्रक्सनले सात वटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ रुपैयाँमा काम गरिरहेको छ। तर सात सडकमध्ये चार वटा सडकमा मात्रै काम सुरु भएको छ। ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा काम सुरु भएको छैन।
गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्सनले ६ वटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाख रुपैयाँमा निर्माण गरिरहेको छैन। संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका आयोजना प्रमुख प्रविन शाहले गेटा आँखा अस्पतालदेखि जोनापुर, जोनापुरदेखि कत्था उद्योग, गेटा आँखा अस्पतालदेखि लालपुर, लालपुरदेखि गौरी, सिर्जनानगरदेखि चौकीडाँडा र चौकीडाँडादेखि चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको बताए।
भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्ट्रक्सनले ८७ करोडमा १४ किलोमिटरको १९ वटा सडक निर्माण गरिरहेको छ। तीमध्ये दुईवटा सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–विपि चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहले बताए।
ड्रेन निर्माणमा बढी समय लाग्ने र अन्य काममा कम समय लाग्ने भएकाले पनि निर्माण कार्यको प्रगति कम देखिएको उनले बताए। आयोजना प्रमुख शाहले आवागमन अवरुद्ध हुने भएकाले धनगढीका सबै सडक एकसाथ बनाउन नसकिएको बताए। आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ। पहिलो चरणको निर्माण सम्पन्न गरी सकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने इकाईका इन्जिनियर पुजन न्यौपानेले बताए।