चितवन । भरतपुर महानगरकी मेयर रेणु दाहालले महानगरका १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग गरेकी छन् । महानगरले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम’ मा उनले गौरवका १३ आयोजनालाई संघ तथा प्रदेश सरकारसँग बजेटको माग गरेकी हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्ध, भरतपुर विमानस्थल विस्तार, महानगरको प्रशासनिक भवन, नारायणी नदीमा सिग्नेचर ब्रिज, स्मार्ट परियोजना, एकिककृत खाने तथा सतह ढल व्यवस्थापन, अटोल्याण्ड, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण, माडी जाने निकुञ्ज भित्रको सडक निर्माण, एक मेघा विद्यालय, चेपाङ र विपन्न समुदायलाई कविलासमा आवसीय विद्यालय सञ्चालनका लागि मेयर दाहालले बजेट माग गरेकी छन् ।
रंगशाला निर्माणमा स्रोत नजुटे महानगरले गर्ने उनको बताइन् । वडा नम्वर ३ स्थित नगर वनको भोगाधिकार र सञ्चालन गर्ने व्यवस्था मिलाउन मेयर दाहालको आग्रह छ । जनप्रतिनिधि आएपछिको ४ वर्षमा ६ सय १० किमि कालोपत्रे, ४ सय ५० किमि सडक ग्राभेल बनेको सुनाउँदै महानगर चक्रपथको ८८.६ किमि मध्ये ४०.५५ किमि निर्माणाधीन र बाँकी पनि छिट्टै बन्ने उनले बताइन् ।
सोमबार भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित मन्त्रीहरु लगायतको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रम आयोजना गरिएको थियो ।