काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू(भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू(भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।