काठमाडौं। बागमती प्रदेशमा प्रहरीका लागि हालसम्म ४९ वटा भवन निर्माण सम्पन्न भइसकेका छन्। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको हो।
प्रहरीका लागि अन्य १८ वटा भवन निर्माणाधीन छन् । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख १२ हजार ९७७ हजार लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख खर्च हुने जनाएको छ ।
प्रदेश सरकारले मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीन वटा भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं। ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसँडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ भने चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेस्ररमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।
हालसम्म ६७ वटा प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशबाट सहयोग भइसकेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । स्राेत: गाेरखापत्र