हेटौँडा। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ। प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो ।
१८ भवन निर्माणाधीन अवस्थामा रहेका छन् । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा एक अर्ब १० करोड ९९ लाख १२ हजार ९७७ हजार रुपियाँ लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपियाँ खर्च हुने जनाएको छ ।
प्रदेश सरकारले मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीन वटा भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसँडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भइसकेको छ भने चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेस्ररमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।