डोल्पा । जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि शुरु भए पनि अझै पूरा भएको छैन ।
सडकखण्डको बीचमा रहेका झण्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन ।
रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन ।
सडक निर्माण तथा स्तरोन्नतिमा ढिलाइ भएपछि यहाँका मानिस लगायत घुम्न वा कामले यस क्षेत्रमा आउने मानिसलाई हवाइमार्ग नै एक मात्र विकल्प रहेको छ ।
डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगञ्ज आउने र त्यहाँबाट आफ्नो गन्तव्य तर्फ लाग्ने गरेका छन् । सडक नभएर अधिकांश मानिस हवाईमार्गमै निर्भर रहने हुँदा यात्रुको चाप बढी हुने गर्दछ ।
नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महङ्गो भए पनि तिरेर जान्छु भन्दा समेत यात्रुले टिकट दुई दिन पछि मात्र पाउँछन् ।
डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक/एक उडान भर्दा यात्रुको चाप बढी हुन्छ।