पाँचथर। पाँचथरको याङवरक गाउँपालिकाका नागरिकले मध्यपहाडी राजमार्गको पाँचथर खण्ड कालोपत्र गर्न ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरेका छन् । उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मध्यपहाडी राजमार्ग सडक आयोजना कार्यालयमा ज्ञापन बुझाउँदै ठेकेदारलाई माग गरेका हुन् ।
जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीलाई ज्ञापनपत्र दिँदै ठेकेदारले काम नगरे पनि सरकारले पटक–पटक म्याद थप गर्दा स्थानीयले सास्ती ब्यहोर्नु परेकोले अब म्याद नथप्न आग्रह गरे । २०७८ माघभित्रै काम सक्ने गरी सरकारसँग सम्झौता गरेको शिवशक्ति निर्माण सेवाले २०८० असार मसान्तसम्मको म्याद थप गरे पनि त्यस समयमा कुनै काम नगरेको प्रतिनिधिमण्डलमा सहभागी याङवरक जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान सदस्य नरबहादुर गुरुङले बताए ।
ठेकेदार नै गायब भएपछि ठाउँठाउँमा खसेको पहिरो, ढिस्को र धाँजा फाटेको सडकका कारण आवागमनमा समस्या भएको याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङको भनाइ छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत थर्पुको दारिम्बादेखि चिवाभञ्ज्याङ जोड्ने पानी पर्नासाथ पहिरो खसेर ट्र्याक अवरुद्ध हुन्छ । ठाउँठाउँमा सडक धाँजा परेका कारण सवारीसाधन र यात्रु गन्तव्य पुगेर फर्किन कति समय लाग्छ भन्ने टुंगो हुँदैन ।
राजमार्गको पाँचथर खण्डको १ सय १४ किमिमध्ये ५१ किमि सडक कमजोर छ । दारिम्बादेखि च्याङथापुसम्म ग्राभेल भएर जेनतेन गाडी गुडिरहे पनि च्याङथापुभन्दा माथि ३० किमि सडकको अवस्था नाजुक छ । दारिम्बादेखि चिवाभञ्याङसम्मको ५१ किलोमिटर सडक पक्की गर्न शिवशक्ति निर्माण सेवाले २०७६ माघ १ गते १ अर्ब २५ करोड रुपैयाँमा सम्झौता गरेको थियो। २०७८ माघभित्रै काम सक्नुपर्ने सम्झौता भए पनि हालसम्म १० प्रतिशतमात्रै प्रगति देखिएको छ ।
च्याङथापुदेखि चिवाभञ्ज्याङसम्म ब्याक कटिङ गरेर छोडिएकाले सवारीसाधन फस्ने तथा सडकको बीचमा थुप्रिएका ढुंगाले यातायात चल्न कठिन छ। बाटोको खराब भएकाले सीमा क्षेत्रमा बस्ने नागरिकसँगै बीओपीका सुरक्षाकर्मीले बर्खाअघि नै खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता छ।कान्तिपुरबाट