लमजुङ। कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ । दूध संकलन केन्द्रमार्फत् गाईभैँसीको दूध बिक्री गर्ने नगरपालिकाभित्रका १ सय २५ जना किसानहरुलाई नगरपालिकाले अनुदान दिइएको हो ।
गत आर्थिक बर्ष २०७९/०८० देखि कृषि र पशुपालनलाई व्यावसायिक बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको थियो । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले ७ लाख ७५ रुपैयाँ अनुदान उपलब्ध गराएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।
गत आर्थिक वर्षमा नगरभित्रका १ सय २५ जना किसानहरुले उत्पादन गरेको २ लाख ३३ हजार ३ सय ५८ लिटर दूधको अनुदान रकम नगरपालिकाले स्थानीय जनविकास सहकारी संस्थामार्फत् किसानहरुलाई वितरण गरेको हो । व्यावसायिकरुपमा पशुपालन गर्दै आएको किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरकोे प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए।
राइनास नगरपालिका केन्द्र तीनपिप्लेमा रहेको दुग्ध चिस्यान तथा संकलन केन्द्र र वडा नं। ६ धमिलिकुवामा रहेको सुजल दूध डेरीमा किसानले उत्पादन गरेको दुध संकलन हुँदै आएको छ । नगरपालिका, जनविकास सहकारी र दूध संकलन केन्द्रसँग आवद्ध किसान तथा सम्वन्धित संस्थासँगै समन्वय तथा सम्झौता गरी अनुदानको कार्यक्रम अघि वढाइएको नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङले बताए ।
कृषि तथा पशुपालन पेशालाई बनाई नगरपालिकालाई दूध र मासु, तराकारी, फलफूलमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले कृषि र पशुपालनमा मा विशेष अनुदान दिँदै आएको छ । दूध उत्पादन विक्रीका लागि अन्य जिल्लाबाट खरिद गरी गाई ल्याउने किसानका लागि नगरपालिकाले ढुवानी खर्च स्वरुप ५ हजार रुपैयाँ दिने व्यवस्था समेत गरेको थियो । गत वर्ष अन्य जिल्लाबाट १ सय १२ गाई किनेर ल्याएका किसानहरुलाई ५ लाख ६० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दूध उत्पादन किसानलाई मात्र नभई कोदो उत्पादनमा समेत २५ प्रतिशतसम्म नगद अनुदान दिँदैं आएको छ । नगरपालिकाले गत वर्ष पशुपालक किसानहरुलाई नै लक्षित गरी दशैँ तिहार हाटबजार सञ्चालन तथा खसीबोका बिक्रीमा प्रति किलो २० रुपैयाँ अनुदान वितरण गरेको थियो । दूध उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकालले चालु आर्थिक बर्षमा १२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।