काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका कोषाध्यक्ष हिरण कुमार श्रेष्ठले सरकारले निर्माण व्यवसायीलाई भुक्तानी नदिँदा जताततै समस्या बढेको बताएका छन्। कोषाध्यक्ष श्रेष्ठले निर्माणपाटीसँगको कुराकानीमा सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुले पनि निर्माण सामाग्री, मजदुर लगायतको भुक्तानी दिन नसकि गतल प्रभाव परिरहेको बताएका हुन्।
उनले भुक्तानी नपाउँदा कतिपय आयोजनाको काम रोकिन पुग्ने र काम गरेनन् भनेर निर्माण व्यवसायीले नै गाली खाने गरेको समेत बताए। उनले भने, ‘जनसाधारणमा निर्माण व्यवसायीले काम गर्दैनन् भन्ने नकारात्मक प्रभाव छ। ठेकेदार भनेका ठिक मान्छे हैनन् भन्ने परेको छ। तर सरकारले भुक्तानी नै नदिने समस्या भएपछि हाम्रो छवि कसरी राम्रो हुन्छ? जिल्ला जिल्लामा समस्या छन्। व्यवसायीहरुले निर्माण सामाग्रीको भुक्तानी, मजदुरहरुको भुक्तानी दिन बाँकी छ। यसले ठूलो समस्या परेको छ।’
कोषाध्यक्ष श्रेष्ठले आयोजनामा बजेट नै विनियोजन नगरी मौखिक तथा राजनीतिक रुपले ठेक्का निकाल्दा समस्या हुन गएको बताए। कोभिडका बेला अस्पतालहरु निर्माणका लागि भनेर १५ करोडको आयोजनामा ५०, ६० लाख निकालेर सुरु गरे। त्यसपछि बजेट नै नभएपछि आयोजना कसरी पूरा हुन्छ? भन्ने उदाहरणसहित प्रश्न समेत उनले गरेका छन्।
पहिलो चरणको आन्दोलनमा प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सचिवहरु लगायत पुग्नुपर्ने सबै ठाउँमा पुगेर निर्माण व्यवसायीका माग र समस्याबारे ध्यानाकर्षण गराउने, बहस गर्ने, समाधानका उपाय समेत दिने काम गर्दा समेत आश्वासन बाहेक केही प्रक्रिया अघि नबढेकाले बाध्य भएर दोस्रो चरणको आन्दोलनमा प्रवेश गरेको कोषाध्यक्ष श्रेष्ठले बताए। उनले मन्त्रीस्तरबाट दिएको निर्देशन सचिवस्तरबाट कार्यान्वयनमा नगएकाले यस्तो समस्या आएको आरोप समेत लगाए।
मन्त्रीस्तरीयबाट बैठक बसेर चाँडै केही निर्णय हुने जानकारीमा आएको समेत उनले जानकारी दिए। उनले भने, ‘मन्त्रीस्तरीय बैठक बसेर चाँडै केही निर्णय आउने जानकारी पाएका छौँ। तेस्रो चरणको आन्दोलन गर्न हामी पनि चाहँदैनौ र आन्दोलन गर्न नै नपरोस भन्ने हामी पनि चाहन्छौँ।’