बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न डोजर पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरीले जनाएको छ।
उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिकाले केही समय लाग्ने जानकारी दिएको छ।
करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्रमा सीधा यातायात सञ्चालन हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौं, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्। बागलुङ बजारबाट पश्चिमतर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।
यसैगरी घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ। घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
वर्षात्का कारण गए राति खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो।
सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको छ।