विशाल बस्नेत
महोत्तरी। सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह माथि आएपछी बर्दिबासस्थित पाटुमा त खोला नै धान खेतबाट बगेको छ ।
क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्बर क्षेत्रमा ठुलो नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ । नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग रहन सचेत गराएका छन् ।
चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन् ।
बर्दिबास, बल्वाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, संग्रामपुर, कविलाशा, दोस्तिया, हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुवानमा परेका पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ ।
बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरेविज्ञ नागदेव यादवले बताए । रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन् ।