काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन आज पनि हुने छ। गत सोमबारदेखि शुक्रबारसम्मको कार्यतालिका अनुसार महासंघले आज पनि सिठ्ठी जुलुश गर्ने भएको हो।
यो आन्दोलनमा निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडिसम्म सिठ्ठी जुलुश गरी संसद भवन अगाडी कोणसभा गर्ने र संसद भवनदेखि माइतिघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानमा सिठ्ठी जुलुशसहित धर्ना दिने महासंघको कार्यतालिका छ।
महासंघकाे हिजाे मंगलबारकाे आन्दोलन कार्यक्रम भने वर्षाका कारण स्थगित भएकाे थियाे।
शुक्रबार सम्म पनि आफूहरुको माग पूरा नभए आइतबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने महासंघले जनाएको छ। साउन २८ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ ।
त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । तेस्रो चरणकै कार्यक्रम अन्र्तगत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेछ ।
आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।
आयोजनाहरुको बाँकी भुक्तानी पाउनु पर्ने, म्याद थप लगायतका नौँ बुँदे माग राख्दै महासंघले यसअघि पहिलो चरणको आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिसकेको छ।