काठमाडौं। नेपाल निर्माण ब्यवसायी महासंघको सिठ्ठी जुलुश सुरु भएको छ। निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गतको आजको सिठ्ठी जुलुश सुरु भएको हो।
जुलुश महासंघको कार्यलय अनमनगरदेखी बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेको छ। आन्दोलनकर्ताले सिठ्ठी बजाउँदै हातमा कालो पट्टी बाँधेर विभिन्न माग लेखिएको पम्प्लेट बोक्दै माइकिङ समेत गरिहरेका छन्।
अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सरकारबाट भुक्तानी नभएसम्मको लागि चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने मागसहित महासंघले आन्दोलन गरिरहेको हो। बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, नियोक्ताले श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको रकम समयमा राजस्व खातामा दाखिला , निर्माण उद्योगसँग सम्बन्धित ऐन, नियम संशोधन गरिनुपर्ने लगायतका माग पनि महासंघको छ ।
शुक्रबार सम्म पनि आफूहरुको माग पूरा नभए आइतबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने महासंघले जनाएको छ। साउन २८ गते सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ ।
त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । तेस्रो चरणकै कार्यक्रम अन्र्तगत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेछ ।
आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।