काठमाडौं। म्याग्दीको कालीपुल बसपार्क पछिल्लो समय व्यवस्थित बनेको छ । अव्यवस्थित संरचना हटाए आवश्यक संरचना निर्माणसँगै सरसफाइ गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र व्यवस्थित बनेको हो । देशका विभिन्न भू–भागबाट सवारीसाधन आवातजावात गर्ने कालीपुल बसपार्क व्यवस्थित र सफा देखिँदै गएपछि बसपार्कका व्यवसायी, यात्रु, यातायात व्यवसायी र सवारीचालक खुसी भएका छन् ।
२०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन आएका थियो । केही वर्ष पहिले बर्खामा हिलो र हिउँदमा धुलोले अस्तव्यस्त, अव्यवस्थित संरचना र जथाभावी फोहोरले बसपार्क यात्रुलाई सास्ती पूर्ण थियो । बसपार्कमा निर्माण भएको एक तले अपांगमैत्री टर्मिनल भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छ ।
भवन परिसरमा सवारीसाधन पार्किङस्थल आरसीसी ढलान र सडक कालोपत्रे गरिएको छ । पहिलेभन्दा स्वरुप फेरिएर व्यवस्थित, पूर्वाधारमैत्री र सफा बनेपछि सहज भएको १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका लक्ष्मण थापाले बताए । ‘अहिले यसको स्वरुप फेरिएर प्रविधिमैत्री र व्यवस्थित बन्दै गएपछि यात्रुलाई सहज भएको छ । यात्रुलाई एउटै भवनबाट गन्तव्य पुग्ने सवारीसाधनको टिकट लिन सहज भएको छ,’ थापाले भने ।
विगत १५ वर्षदेखि विभिन्न सवारीसाधन चलाउँदै आएका अर्का चालक रञ्जित पुनले ढलानसहितको व्यवस्थित पार्किङ, दिनदिनै सरसफाइ, व्यवस्थित टिकट काउण्टरले यात्रु र यातायात व्यवसायीलाई सहज र बसपार्क पनि विगतभन्दा सफा र राम्रो देखिएको बताए । पहिले जथाभावी रूपमा टहरा निर्माण गरेर बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन, जथाभावी पार्किङ, अव्यवस्थित टिकट काउण्टर, शौचालय अभावले यात्रुलाई सास्ती हुँदै गएपछि बसपार्कमा पूर्वाधार निर्माणका लागि गुरुयोजना निर्माण गरिएको थियो ।
गुरुयोजना अनुसार अनाश्वयक संरचना हटाएर आवश्यक पूर्वाधार निर्माणले बसपार्कको मुहार फेरिएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष उत्तम कर्माचार्यले बताए । बसपार्कमा सवारीसाधनले नियमअनुसार पार्किङ गरेका छन् वा छैनन् भन्ने विषयमा निगरानीका लागि सिसी क्यामरा जडान गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष कर्मचार्यले बताए । बसपार्कलाई रातको समयमा उज्यालो बनाउनका लागि बत्ती जडान गरिएको छ ।
पूर्वाधार निर्माणसँंगै बसपार्कमा पार्किङलाई व्यवस्थित, सरसफाइ र शुल्क उठाउनका लागि सातजना कर्मचारी खटाइएको छ । २०७४ मा नगरपालिकाले २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारिएको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ । कारोबार दैनिकबाट