काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले गर्ने बजेट विनियोजन हेर्ने हो भने एउटा पुल बन्न ११५ वर्षसम्म लाग्ने बताएका छन्।
महासंघको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले सरकारले एक अर्ब १५ करोडको एक वर्षमा सक्नुपर्ने आयोजनामा जम्मा एक करोड बजेट विनियोजन गर्ने गरेको भन्दै यस्तो विनियोजनले एउटा पुल बन्न एक सय १५ वर्षसम्म लाग्न सक्ने बताएका हुन्।
उनले भने, ‘राजनीतिक नेतृत्वको गलत मनसाय, दबाब र आफू पदमा बसिरहनका लागि मात्र अनावश्यक टेन्डरहरु आह्वान गरिन्छ। एक अर्ब १५ करोडको ठेक्का २ वर्षमा सकिनुपर्ने हुन्छ तर सरकारले बजेटको विनियोजन एक करोडको गर्छ । यस्तो बजेट विनियोजनले त एउटा पुल बनाउन ११५ वर्ष लाग्छ । २ खर्बको स्थानीय अस्पतालको लागि वार्षिक ५ देखि ८ अर्ब मात्र बजेट विनियोजन हुन्छ। आयोजनाहरुको आवश्यकताको ५ प्रतिशत मात्र बजेट विनियोजन हुन्छ । यसरी निर्माण कार्य अगाडी बढ्न पनि सक्दैन। यसरी अगाडी बढेका कार्य गुणस्तरीय पनि हुँदैनन्। लागत पनि बढ्छ, समयमा पनि पूरा हुन सक्दैन।’
अध्यक्ष सिंहले हाल बन्दै गरेका ४ खर्ब लागतका तीन हजार आयोजनाको लागि रकमको व्यवस्थापन नगर्दासम्म सरकारले म्याद थप गर्न नहुने समेत बताए। उनले सरकारको क्षमताले जति भ्याउँछ त्यति आयोजनाको मात्र म्याद थप गरी एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न सरकारलाई आग्रह समेत गरेका छन्।
उनले सरकारले भुक्तानी नदिएका कारण आयोजनामा समस्या हुने तर जनमानसमा भने निर्माण व्यवसायीप्रति नकारात्मक प्रभाव पर्न थालेको गुनासो समेत गरे।
अध्यक्ष सिंहले यो सरकारले पनि विगतको सरकारको जस्तै त्रुटी गरिरहेको आरोप लगाए। उनले भने, ‘यो सरकार विगतको सरकारको निरन्तरता हो। वितगका सरकारले त्रुटि गरे भन्दैमा यो सरकारले पनि नदोहोर्याओस। म प्रधानमन्त्री, अर्थमन्त्री, विकासे सम्पूर्ण मन्त्रालय र मुख्य सचिवहरुलाई अनुरोध गर्छु, सरकारको जति क्षमता छ त्यतिको मात्र आयोजनाको म्याद थप गरियोस र एक वर्षभित्र ती योजना सम्पन्न गरी जनतालाई सुविधा दिइयोस। जनतामा भ्रम छर्ने काम नगरियोस्।
अध्यक्ष सिंहले दोस्रो चरणको आन्दोलनकै क्रममा सरकारले आफूहरुलाई बोलाएर उच्चस्तरको वार्ता कमिटि गठन गरेर पूर्वाधार विकासको लागि र निर्माण व्यवसायीको समस्यालाई सम्बोधन नगरे आन्दोलन निरन्तर जारी राख्ने चेतावनी समेत दिए।
महासंघकाे दाेस्राे चरणको आन्दोलन अन्तर्गत आज पनि सिठ्ठी जुलुश निकालिएकाे थियाे। दाेस्राे चरणकाे आन्दाेलन भाेलि शुक्रबारसम्म जारी रहने छ। महासंघले आइतबारदेखि तेस्राे चरणकाे आन्दाेलन थाल्ने घाेषणा गरिसकेकाे छ।