काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य गीता शाहीले सरकारले निर्माण व्यवसायीमाथि निरन्तर अन्याय गर्दै आएको बताएकी छन्। महासंघको महिला समन्वय समितिकी सहसंयोजक समेत रहेकी शाहीले सरकारले गरेको गल्तीको सजाय निर्माण व्यवसायीले भोग्दै आएको आरोप लगाएकी हुन्।
महासंघकाे आन्दोलनमा निरन्तर र सक्रिय सहभागि शाहीले निर्माणपाटीसँगको कुराकानीमा सरकार आफैँ धामि आफैँ झाँक्रि भएको बताइन्। उनले आयोजनाहरुको भुक्तानी नदिने पनि सरकार र काम समयमा नभएको भन्दै कालोसूचीमा राख्ने पनि सरकार नै भएको बताइन्। अर्बौंका आयोजनामा एक, दुई करोड भुक्तानी दिएर वास्ता नगर्ने सरकारले काम भने समयमै खोज्ने र विभिन्न बाहानामा निर्माण व्यवसायीलाई दुख दिने गरेको उनको भनाइ छ।
शाहीले भनिन्, ‘सरकारले ठेक्का आह्वान गरेरै हामीले काम गरेका हौं। तर हामीले गरेको कामको भुक्तानी ५, १० प्रतिशत पनि नपाउँदा निर्माण सामाग्रीको भुक्तानी, मजदुरको ज्याला तथा तलव, बैंकको व्याज तिर्न नसक्दा निर्माण व्यवसायी सबैको नजरबाट गिर्न थालेको, जनतामा उल्टै ठेकेदारले काम गर्दैनन् भन्ने भ्रम परेको, चेक बाउन्समा पक्राउ पर्ने, कालोसूचीमा पर्ने गरेको गुनासो गरिन्।
पहिलो चरणको आन्दालेनबाट सरकारको कुनै प्रतिक्रिया नपाएपछि दोस्रो चरणको आन्दोलनमा जान बाध्य भएको भन्दै शाहीले भनिन्, ‘दोस्रो चरणको आन्दोलनका क्रममा समेत सरकारले बहसमा नबोलाए महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन पनि शसक्त रुपमा गर्ने छौं। हाम्रो माग पूरा नभएसम्म आन्दोलनका विभिन्न कार्यक्रम निरन्तर चलिरहने छ।’