म्याग्दी। रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अलपत्र परेको छ। म्याग्दीको बेनी नगरपालिका–१ का घरघरमा खानेपानी सुविधा पुर्याउने उद्देश्यले शुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो।
करिब सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको १६ महीनासम्म पनि गति लिन सकेको छैन। सम्बद्ध कार्यालयको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले प्रारम्भिक चरणको काम पनि हुन नसकेको बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।
२०७७ साल असार २४ गते रू. दुई करोड ७५ लाख ३६ हजार ५०६ मा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच ठेक्का सम्झौता भएको थियो।
२०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्यांकीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको हालसम्म एउटा रिजर्भ ट्यांकी पनि निर्माण पूरा भएको छैन। आधा काम भएको रिजर्भ ट्यांकीका संरचना पनि जीर्ण बनेको वडाध्यक्ष रावलले जानकारी दिए।
सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ। ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेन्ड ४ दशमलव ७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्युबिक क्षमताको ट्यांकीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ।
निर्माण कम्पनीका सहायक ठेकेदार होमनाथ सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बर्खाका कारण रोकिएको कामलाई तीव्रता दिने जानकारी दिए। काम सुचारु गर्ने तयारीमा रहेको उनले बताए। जिर्ण र अव्यवस्थित संरचना र मुहान सुक्दै गएको र नयाँ आयोजना निर्माणमा भएको ढिलाइले खानेपानी उपभोग गर्न पाउने आशा गरेका सर्वसाधारण निराश बन्दै गएको स्थानीयले बताए।