काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन आज सकिएको छ। आयोजनाहरुको भुक्तानीको माग, विमा निर्देशीका खारेजी, म्याद थप लगायतका नौँ बुँदे माग राख्दै आन्दोलन गरिरहेको निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन आज सकिएको हो।
कोणसभामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले जबसम्म सरकारले आफूहरुको मागलाई सम्बोधन गर्न सक्दैन तबसम्म निरन्तर आन्दोलन जारी राख्ने बताए। आइतबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने बताउँदै अध्यक्ष सिंहले आयोजनाको भुक्तानी दिन नसक्ने तर ठेक्का आह्वान गरिरहेको विभागहरुलाई घेराउ गर्ने, धर्ना दिने चेतावनी दिए। उनले कर्मचारीहरुले गलत निर्देशन पालन गरेकाले निर्माण व्यवसायी समस्यामा परेको आरोप समेत लगाए।
अध्यक्ष सिंहले भुक्तानी नपाएका कारण आफूहरु चेक बाउन्समा पर्ने गरेको र प्रहरीबाट भाग्दै हिँड्नुपर्ने अवस्था आएको समेत बताए।
महासंघको आन्दोलनमा विभिन्न जिल्ला संघका अध्यक्षहरु, प्रदेश महासंघका अध्यक्षहरुले समेत सम्बोधन गर्दै आन्दोलनमा एक्यबद्धता जनाएका छन्। जिल्ला र प्रदेशबाट आएका निर्माण व्यवसायीहरुले समेत माग पूरा नभएसम्म आफूहरु जिल्ला नफर्कने र जुनसुकै कदम चाल्न परेपनि पछि नहट्ने बताएका छन्। महासंघको आजको आन्दोलनमा इँटा व्यवसायी महासंघले समेत एक्यबद्धता जनाएको छ।
महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत गत सोमबारदेखि सिठ्ठी जुलुश सुरू भएकाे थियाे। महासंघको कार्यालय अनामनगरबाट निस्किएको जुलुश बानेश्वरमा कोणसभा गरी माइतीघर हुँदै पुन महासंघको कार्यालय पुगेर समापन भएको छ।
दोस्रो चरणको आन्दोलन समापन भएसँगै महासंघले आइतरबादेखि तेस्रो चरणको निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ।