काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले तेस्रो चरणको आन्दोलनमा भुक्तानी दिन नसक्ने तर नयाँ ठेक्का आह्वान गर्ने सरकारी विभागहरुमा घेराउ गर्ने, धर्ना दिने चेतावनी दिएका छन्। दोस्रो चरणको आन्दोलनको अन्तिम दिन आज कोणसभामा बोल्दै अध्यक्ष सिंहले सरकारले आफूहरुकाे माग सम्बोधन नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने बताएका हुन्।
उनले भुक्तानी दिन नसक्ने आयोजनाको म्याद थप गर्न नहुने र भएका आयोजनाको भुक्तानी दिन नसकेकै अवस्थामा अनावश्यक नयाँ टेन्डर खुलाउन नहुने बताए।
अध्यक्ष सिंहले भने, ‘यो वर्ष म्याद थपको अन्तिम वर्ष हुनुपर्छ। म्याद थप गरेका आयोजनाको भुक्तानी गरिनुपर्छ। जबसम्म म्याद थप गरेको आयोजनाको भुक्तानी गर्न सक्दैन तबसम्म म्याद थप नगर्न आग्रह गर्छु। तेस्रो चरणको आन्दोनमा अब हामी आयोजनाको भुक्तानी दिन नसक्ने तर नयाँ ठेक्का आह्वान गरिरहेका विभागहरुमा धर्ना दिने छौं, घेराउ गर्ने छौं।’
अध्यक्ष सिंहले देशमा राजनितिका लागि मात्र अनावश्यक आयोजनाहरु खुलाइएको बताए। भुक्तानी दिन नसक्ने अवस्था हुँदा हुँदै सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल, लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, सभाहलहरु बनाएको समेत बताए। उनले भने, ‘सरकारले पुरा गर्न नसक्ने र प्राथमिकतामा नपरेका आयोजना राष्ट्र र जनता दुवैलाई बोझका रुपमा छन्। लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रि विमानस्थल, सभाहलहरु बनाएर आम जनतालाई सेवासुविधा हुँदैन। राज्यलाई बोझ मात्र हुन्छ। यस्ता अनावश्यक आयोजनालाई हटाएर जनतालाई सेवा दिने अतिआवश्यक आयोजनाको मात्र म्याद थप गरिनुपर्छ। र नयाँ टेन्डर खुलाउला समेत आवश्यकता हेरेर बजेट हेरेर मात्र खुलाउनु पर्छ।’
अध्यक्ष सिंहले सरकारसँग भुक्तानी दिने क्षमता नभएकाेले जवाफ दिन नसकेको बताए। निर्माण व्यवसायीले जसरी एक वर्षसम्म सम्पन्न गर्न म्याद दिँदा काम गर्ने कार्यतालिका पेस गर्छन् त्यसरी नै सरकारले म्याद थप भएका योजनाको भुक्तानीको तालिका दिनुपर्ने उनको भनाइ छ। कसरी भुक्तानी दिने भन्ने कुराको जवाफ सरकारसँग नभएका कारण जवाफ माग्न आफूहरु निरन्तर आन्दोलनमा रहेको समेत उनले बताए।
अध्यक्ष सिंहले सरकारले उपभोक्ता समिति खारेज गर्नुपर्ने, विमा निर्देशीका २०७८ खारेज गर्नुपर्ने समेत बताए। उनले उपभोक्ता समितिबाट हुने काम गुणस्तरीय नहुने, समयमा पूरा नहुने र लागत समेत बढी लाग्ने हुँदा पनि समिति खारेज हुनुपर्ने बताए।
निर्माण व्यवसायीको भुक्तानीमा समस्या आउनुमा राजनीतिक नेतृत्वकर्ता, सरकारको मात्र नभएर कर्मचारीतन्त्रको समेत उतिकै दोष रहेको समेत अध्यक्ष सिंहको दाबी छ। उनले कर्मचारीहरुले गलत निर्देशन पालना गरेकाले आफूहरु समस्यामा परेको आरोप लगाए।
निर्माण व्यवसायीहरु यति बेला आफ्नै कार्यकक्षमा बस्न नसक्ने अवस्था आएको र प्रहरीबाट समेत लुक्दै भाग्दै हिँड्नुपर्ने अवस्था रहेको समेत उनले बताए। अध्यक्ष सिंहले भने, ‘अहिले निर्माण व्यवसायी आफ्नो कार्यालयमा बस्न सकिरहेका छैनन्, २० लाख मजदुरलाई भुक्तानी दिन सकिरहेका छैनन्। आफूले लिएको कर्जाको व्याज र किस्ता तिर्न सकिरहेका छैनन्, चेक बाउन्स भएर प्रहरी प्रशासनसँग लुकिलुकि हिँड्न बाध्य हुनु परिरहेको छ। तर सरकार किन मौन छ? सरकारले आफ्नो कर्तव्य किन बिर्सिएको छ? त्यसको खबरदारी गर्न हामी निरन्तर लागिरहेका छौँं। हाम्रो माग पूरा नभएसम्म हामी प्रधानमन्त्री, अर्थमन्त्री, सबै विकासे मन्त्रालय र मुख्य सचिवलाई पनि खबरदारी गछौं।’
महासंघले गत साेमबारदेखि सुरू गरेकाे दाेस्राे चरणकाे आन्दाेलन आज सम्पन्न भएकाे छ। महासंघले तेस्राे चरणकाे आन्दाेलन आइतबारदेखि गर्ने घाेषणा समेत गरिसकेकाे छ।