काठमाडौं। निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि हात्तीबन–गोदावरी सडक हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। सो सडक सधैँ निर्माणाधीन हुँदा साथै सडक खाल्डाका कारण स्थानीयवासीले कष्टकर यात्रा गर्न बाध्यता रहेको जानकारी दिएका छन्। गोदावरी सडकमा भएको खाल्डाखुल्डीका कारण आधा घण्टामा पार गरिने सडकमा हाल एकदेखि डेढघण्टा लाग्ने सवारी चालकहरुको गुनासो रहेको छ।
सो सडकमा भएको धुलोका कारण आफ्ना घरदेखि भान्छा कोठासम्म दैनिक धुलाम्मे हुने गरेको स्थानीयवासीको भनाइ छ। त्यसैगरी हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने कारणले गर्दा त्यहाँका स्थानीय साथै सो सडक ह्ँदै यात्रा गर्ने यात्रुहरुले सास्तै झेल्दै आएका छन्। उक्त धुलो र हिलोबाट मुक्ति पाउने आशामा त्यहाँको स्थानीयले वर्षौ बिताइसके तर सडक निर्माणको गति भने बढ्न सकेको छैन्।
त्यसैले सडकको अवस्था देखेर स्थानीयहरु निराश भएका छन्। पाँच वर्षदेखि निर्माण सुरु भएको सो सडक अलपत्र भएको छ। निर्माण व्यवसायीले आकल झुकल उपकरण र जनशक्ति थपेर काम गर्न चाहेको जस्तो देखाए पनि नियमित काम नहुँदा सम्पन्न नभएको स्थानीयवासीको गुनासो रहेको छ।
स्थानीयवासीले पटक–पटक कहिले सडक विभाग, कहिले गोदावरी नगरपालिका, कहिले आयोजना कार्यालय र कहिले सडक विभागलाई सडक चाँडो सम्पन्न गर्न दबाब दिँदै आएका छन्। साथै सडक निर्माणमा ढिलाइ भएको भन्दै पटक–पटक सडक नै अवरुद्ध गरिए कतै बाट पनि चासो नदेखाएपछि सम्पन्न हुन नसकेको छैनउनिहरुको भनाइ रहेको छ। त्यसैगरी बाँडेगाउँमा सोमबार बिहानैबाट स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए भने दिउँसोबाट हरिसिद्धि सडक पनि अवरुद्ध भएको थियो।
सडक विभागका प्रतिनिधि र स्थानीयवासीबीच मङ्सिर महिनाभित्र सडक सम्पन्न गर्ने सहमति भएपछि हाल सो सडक चालू भएको छ। निर्माण सुरु भएको लामो समयसम्म पनि कालोपत्र नभएर स्थानीयवासीले धुलो र हिलो खप्नुपरेको भन्दै निर्माण व्यवसायी विरुद्ध सडक अवरुद्ध गरेका हुन। निर्माण व्यवसायीले सो खण्ड यही महिनाभित्रमा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। सो सडक सुधार नहुँदा अवस्था झनझनै खराब हुँदै गएको छ भने गतवर्ष सडकमा माटो र ग्राभेल विच्छाउदा आवागमनमा झन गाह्रो भएको थियो।
ललितपुर महानरपालिका र गोदावरी नगरपालिकामा पर्ने उक्त सडक सङ्घीय सडकका रुपमा रहेको भएता पनि सो सडकमा लामो समयसम्म निर्माणले गति लिन सकेको थिएन। तर पछिल्लो दिनमा केही गतिलिन थालेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख जानकारी दिएका छन्।
पाँचवर्ष पहिले विस्तार सुरु भएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माणअघि बढ्न सकेको थिएन। स्थानीयवासीले घर भत्काउन नदिने भन्दै विरोध गरेपछि निर्माण ठप्प भएको थियो। सुरुका दिनमा निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन।
तीन वर्ष पहिले नै सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो। सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै उक्त सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो। त्यसैगरी सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो। त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो।
सो सडकमा गोदावरीको साँढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्थामा छ भने बाँकी सडकमा हाल १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जनाएको छ। सडकमा कतैकतै पाँच÷साढे पाँच मिटरको चौडाइ छ। चौडाइ कम भएका स्थानमा पैदलयात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ। टौखेलदेखि गोदावरी सडक भने गतवर्ष नै निर्माण सम्पन्न भइसकेको छ।
विस्तारको क्रममा रहेको ७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो। सडक निर्माणको ठेक्का आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ। ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध भएको अरु आयोजना जस्तै ६ महिना म्याद थपिएको छ। आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ।