काठमाडौं। डोटी जिल्लाको बुडर–जोरायल सडकखण्ड अन्तर्गत पर्ने रिठासम्मको सडक कालोपत्र सुरु गरिएको छ। कोभिड–१९ का कारण कालोपत्रका काममा ढिला भएको भएतापनि अहिले सडक कालोपत्रका लागि धमाधम काम सुरु भएको हो।
उक्त सडक १० किलोमिटर कालोपत्र गर्न रु २१ करोड ३९ लाख २२ हजार ४४० मा ठेक्का सम्झौता राजेन्द्र निर्माण सेवाले लिएको थियो। सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख अनिल भट्टका अनुसार सो सडकको ८० प्रतिशत काम सकिएको छ।
उक्त सडक कालोपत्र गर्ने क्रममा रहे पनि निर्माण कम्पनीको लापरबाहीले सडक गुणस्तरीय नभएको जोरायल गाउँपालिका–२ का स्थानीयवासी महेन्द्र थापाले जानकारी दिए। ”कालोपत्रका लागि तीनपटक गर्नुपर्ने प्रावधान भए पनि एकपटक मात्रै सब ग्रेड गरिएको र मेसिनरी वाल, नालीको डिजाइन अनुमानभन्दा गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ।
यसैगरी, जहाँ ढुङ्गा–गिट्टी पाइयो त्यही ठाउँमा वालहरु बनाइएको छ, भने मेसिनरी वालमा १–४ को मसला हुनुपर्नेमा १–८ को मसला हालेको फिल्डमा देखिएको अर्का स्थानीयवासी रामबहादुर विकले जानकारी दिए। उनका अनुसार उक्त सडक कालोपत्र निर्माण सम्पन्न नहुँदै भत्किएको छ। पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख भट्टका अनुसार सडक निर्माणका लागि गत असार मसान्तसम्म रु १४ करोड १३ लाख ९८ हजार ८०३ भुक्तानी भइसकेको छ।
कालोपत्र गर्ने पेटी ठेकेदार रुपलाल पाण्डेका अनुसार कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको तर अब छिट्टै कालोपत्रको काम हुने जानकारी दिए। “कोरोनाका कारण कालोपत्रको काममा केही ढिला भएको भएतापनि अब चाँडै काम सुरु हुन्छ, सम्झौतामा भए अनुसार काम गरेका छौँ, निर्माण स्थलमै आएर चेक गर्दा हुने उनले बताए।