एजेन्सी। अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले तेलको आपूर्ति बढाउने भएको छ। राष्ट्रपति जो बाइडेलनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिएका हुन्।
इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, युके, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिनुभएको हो। यो कदमबाट इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने विश्वास राष्ट्रपति बाइडेनले लिएको ह्वाइटहाउसले जनाएको छ।
तेलको उपभोग गर्ने उपभोक्ताले बढ्दो मूल्यका कारण ग्यास स्टेशनहरुमा पीडा महसुश गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ताले आगामी डिसेम्बर मध्यसम्ममा उक्त मात्राको तेल निकाले पछि राहत मिल्ने बताएका छन्।
राष्ट्रपति बाइडेनका अनुसार थप हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भयो भने पनि अमेरिका त्यसका लागि तयार रहने छ। एक ग्यालनमा साढे चार लिटर भन्दा बढी मात्रा हुने पेट्रोलको मूल्य अमेरिकामा प्रति ग्यालन ३ दशमलव ४ डलर पर्दछ। जुन अघिल्लो वर्षको यही समयको दोब्बर मूल्य हो।
सन १९७५ मा अमेरिकाले प्राकृतिक महामारी, राष्ट्रिय सुरक्षालगायतका ठूला आवश्यकताको बेला प्रयोग गर्ने गरी टेक्सस र लुजियाना राज्यमा आकस्मिक तेल भण्डार खडा गरेको थियो। खडा गरिएको उक्त भण्डारमा ७० करोड ब्यारेल बढी तेल भण्डारण रहेको अनुमान गरिन्छ।
तेलको मूल्य वृद्धि भएसँगै समस्यामा परेका उपभोक्ताहरु पनि मूल्य वृद्धि नियन्त्रण् गर्न अमेरिकाले तेलको आपुर्ति बढाउने कुराले खुसि भएका छन्।