काठमाडौं। धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधाम (त्रिवेणी क्षेत्र) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तीर्थस्थल हो। एक महिनाअघि भारतसँगको सीमानाका खुला भएपछि भारतबाट धार्मिक पर्यटकको आगमन बढेको हो।
पहिलो र दोस्रो लहरको कोभिडका कारण सो क्षेत्रमा भक्तजनको आगमन प्रभावित बनेको थियो। दोस्रो लहरको कोभिड सङ्क्रमण कमी आएको भएपनि भारतसँगको सीमानाका बन्द रहेका कारण त्रिवेणीधाम सुनसान नै बनेको थियो। तर नाका खुलेसँगै भारतबाट दैनिक ५०० हाराहारीमा त्रिवेणीधाममा दर्शन र घुम्नका लागि आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाममा उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यले जानकारी दिएका छन्।
त्रिवेणीधाममा आउने धार्मिक पर्यटक नेपाली भन्दा बढी भारतीय रहने गरेका छन्। पछिल्लो समय नेपालतर्फबाट आउने बाटोघाटो बिग्रेका कारण टाढाबाट आउने नेपालीको सङ्ख्यामा कमी आएको छ। त्यसैले नजिकै पायक पर्नेहरू मात्रै त्रिवेणी पुग्ने गरेका छन्। यदि समयमा नै बाटोघाटोको मर्मत गरिने हो भने नेपाली पर्यटकको संख्या पनि बढ्ने देखिएको छ। सो क्षेत्रमा भारतबाट ६५ प्रतिशत धार्मिक पर्यटकहरु आउने गरेका छन्। त्यस्तै टाढा टाढाबाट आउने नेपाली धार्मिक पर्यटकहरु बाटो असहजताका कारण त्यहाँ जान सकेका छैनन्। सो क्षेत्रमा शनिबार र आइतबार पर्यटक बढी आउने गरेका छन्। माघे औँसी, साउन महिनाको सोमबार, नयाँ वर्षजस्ता विषेश पर्व र विषेश दिनमा यहाँ २० हजारसम्म भक्तजन तथा पर्यटकको आगमन हुने गरेको कृष्ण प्रपन्नाचार्यले जानकारी दिएका छन्।
पछिल्लो समय सो क्षेत्रमा सिसमहल निर्माणको कारणले पर्यटकको संख्या अत्यधिक मात्रामा बढेको पाइएको छ। सिसमहलले हाल त्रिवेणीको नामै परिवर्तन गरेको प्रपन्नाचार्य बताएका छन्। हाल त्रिवेणी सिसमहल भएको ठाउँ भनेर चिनिन थालेको छ। सिसमहलको भित्री भागमा सिसाको पर्खाल बनाइएको छ। यहाँभित्र प्रवेश गर्दा एकै व्यक्तिका धेरै आकृति देखिन्छन्। महलभित्र आकर्षक राधाकृष्ण भगवानको मूर्ति राखिएको छ। सिसमहल अवलोकनका लागि सामान्य शुल्क राखिएको छ। धामको खर्च व्यवस्थापनका लागि सिसमहल मुख्य स्रोत बनेको प्रपन्नाचार्यले जानकारी गराएका छन्।
त्यसैगरी सो क्षेत्रको आकर्षण नारायणी नदीमा डुङ्गा सयर बनेको छ। नारायणी नदीको मनोरम दृश्यावलोकन गर्दै डुङ्गामा शयर गरी पर्यटकले रमाइलो गर्ने गर्छन् भने त्यहाँका मानिसको आयस्रोतको माध्यमसमेत बनेको छ। तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको सङ्गमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो। यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृश्यावलोकन गर्न पाइने हुँदा यहाँ पुग्न जो–कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ।
धामक्षेत्रमा निर्माण गरिएका विभिन्न मठमन्दिरले यहाँको सुन्दरतालाई बढाएको छ। गजेन्द्रमोक्ष दिव्यधाममा आएका पर्यटकलाई वैदिककालीन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा रहेका विभिन्न दृश्यले लोभ्याउने गरेको छ। ६ बिघा क्षेत्रफलमा फैलिएको गजेन्द्रमोक्ष दिव्यधाम परिसरमा विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित सिसमहल आदिले यहाँको गरिमा र महत्व झनै बढाएको छ। जसले गर्दा सो क्षेत्रमा पर्यटकको घुँइचो लाग्ने गरेको छ।
सो क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को सक्रियतामा धाम परिसरमा गजेन्द्रमोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशालालगायत विभिन्न संरचना निर्माण गरिएको छ। साथे सो क्षेत्रमा गजेन्द्रमोक्ष धामसहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, वाल्मीकि आश्रम, महर्षि वाल्मीकिले आदि काव्य वाल्मीकि रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्यहरु हुन्।