जुम्ला । सडक अतिक्रमण बढेपछि जुम्ला जिल्लामा ‘सडक सुरक्षा अभियान’ शुरु गरिएको छ। जुम्लाको रारालिही बजार, त्रिबेणी, कुडारी, लिताकोट, तातोपानी, एैरेनी, लाम्रा, उम्गाड र बसपार्क क्षेत्रमा सडक अतिक्रमण बढेपछि ‘सडक सबैको साझा सम्पत्ति हो, यसको संरक्षणमा सबै एकजुट भै लागौं’ भन्ने नाराकासुरक्षा अभियान थालिएको हो।
सडक डिभिजन जुम्लाले पटकपटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध गरे पनि सडक अतिक्रमण रोकिएको छैन। कर्णाली राजमार्ग कालोपत्रे भएपश्चात सडक अतिक्रमण गरेरै जुम्ला खण्डमा दर्जनौ घर टहरा निर्माण भएका छन्। अतिक्रमणले एकातिर सडक साँघुरिँदै गएको छ भने, अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ। मनपरि तवरमा सडक छेउमा घर टहरा निर्माण तथा जथाभावी निर्माण सामग्री फाल्ने गरेका छन्।
सडक संरचनाभित्र स्थानीयले मनपरि निर्माण सामग्री फाल्ने, घरटहरा निर्माण गरेको पाइएकोले खाली गर्न पहिलो चरणमा सूचना टाँस गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए।
पहिलो चरणमा जुम्ला सदरमुकामको बसपार्क क्षेत्रमा सुरक्षाकर्मी र सडक डिभिजनको अगुवाइमा सडक सुरक्षा अभियान चलाइएको छ।
सात दिनभित्र सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट हुने क्षतिप्रति कार्यालय जवाफदेही नहुनेसमेत चेतावनी दिइएको छ।