काठमाडौं। मुस्ताङको कागखोलामा फेरि भेलबाढी आएको छ। मुस्ताङ, वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको हो।
आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा बाढी आएको थियो, बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्याएको बताइएको छ।
आइतबार राति अघिपछि पर्नेभन्दा ठूलो पानी पर्यो। दुई घन्टा परेपछि रह्यो। वर्षाका कारण झोङखोलामा बाढी आएको थियो। मुक्तिनाथतिरबाट बगेर आउने खोलामा पनि सहत बढेको थियो। सडकमार्गमा क्षति पुर्याएको पनि बताइएको छ।
साउन २८ गते कागखोलाको बाढीले कागबेनी क्षतिग्रस्त तुल्याएको थियो। कागखोलाको बाढीले २९ वटा घर, प्रभु बैंकको मुस्ताङ शाखा, सामूदायिक विद्यालय, श्राद्धस्थल, धर्मशाला बगाएको थियो। १३ वटा घरमा आंशिक क्षति पुर्याएको थियो।
कागबेनी पुनःनिर्माणका लागि अहिले मुस्ताङबासी लागि परेका छन्। धार्मिक, सामाजिक संघ–संस्थाले रकम संकलन गरेर पुनःनिर्माणमा लागि परेका छन्।
नेपाली सेनालसहित तीनवटै सुरक्षा निकाय पनि भग्नावशेष पन्छाउने काममा लागि परेको बताइएको छ।
बाढीग्रस्त कागबेनीमा खानेपानी र विद्युत आपूर्ति नियमित भइसकेको र विस्थापित ६० घर परिवारलाई राहत र पुनर्स्थापनाको काम भइरहेको छ।