दोलखा। सडक अवरुद्ध भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ७ र ८ का पहिरोपीडितले राहत पाउन सकेका छैनन् । पहिरोपीडित दुवै वडाका ६५ घरपरिवारलाई दाताले राहत दिन खोजे पनि पाउन नसकेको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले दिन लगेको राहत सडक अवरुद्ध भएपछि फर्काउन बाध्य हुनु परेको शाखाका पूर्वसभापति गोकर्णप्रसाद पोखरेलले बताए। सडक नियमित भएपछि पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने उनले जानकारी दिए। गत साउन १८ गतेको पहिरोबाट प्रभावित वडा नं.–७, टोपटारका छ, भस्मेका २३ हुप्चीका दुई र खानीखोलाका एक घरपरिवारलाई एसबी जर्मन, रिड नेपालको आर्थिक सहयोग गरिएको छ । गौरीशङ्कर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले पुस्तकालयको सहकार्यमा प्राप्त खाद्यान्न सामग्री वडा कार्यालयबाटै वितरण गरिएको बताए।
पहिरोपीडित ३१ परिवारलाई दैनिक आवश्यक पर्ने चामल ४४ बोरा, खाने तेल ४४ लिटर, दाल, जिरा, नुन, चिनीलगायतका राहत सामग्री वितरण गरिएको हो । विपत्तिमा कसैलाई अप्ठ्यारो नपरोस् भन्ने उद्देश्यले वडा नं।८ का ३४ घरपरिवारलाई १३४ बोरा चामल, २२१ लिटर तेल, दाल, जिरा, नुन, चिनीलगायतका राहत सामग्री वितरण गरिएको अध्यक्ष बस्नेतले बताउए ।
तत्कालका लागि आवश्यक पर्ने केही राहत सामग्री र त्रिपाल वडा तथा पालिकाले उपलब्ध गराएको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
पहिरोपीडित ६५ घरपरिवारलाई राहत स्वरूप वैदेशिक रोजगारी गएका दोलखालीबाट राहत सङ्कलन गरिएको छ । दोलखा समाज जापानबाट प्राप्त एक लाख ३५ हजार रुपियाँ र दोलखा समाज युएईबाट प्राप्त ५० हजार रुपियाँ गरी कुल एक लाख ३५ हजार रुपियाँ नगद पालिका अध्यक्ष विश्वास कार्कीलाई हस्तान्तरण गरिएको युएईका संस्थापक उपाध्यक्ष पुष्कर अधिकारीले बताए।
पहिरोमा परी टोपटारका दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै बेपत्ता छन् । टोपटारमा ठुलो धनजनको क्षति भएपछि भस्मेवासी पहिरोको त्रासले मार्बुमा रहेका आफन्तका शरणमा बसिरहेका छन् । गोरखापत्रबाट