चितवन। नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेको छ। निर्माण कम्पनीका प्रतिनिधिसहित बिहीबार बिहान चितवन आएको उक्त टोलीले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिसहितको रोभरमा पुलको निर्माणस्थलको निरीक्षण गरेको हो।
निरीक्षणमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्य सडक विभागका प्रतिनिधि, तुँदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले निर्माण स्थलकोे निरीक्षण गरेको हो । अहिले रहेको पुलभन्दा उत्तरतर्फ समानान्तर बन्ने सिग्नेचर पुलको लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको छ ।
चार सय २० मिटर लम्बाईको चार लेनको उक्त पुल निर्माणको लागि एक अर्ब ६८ करोड ७६ लाख रुपिंयाँमा ठेक्का सम्झौता गरेको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । पुल महाशाखा उपनिर्देशक शाक्य अनुसार हाल डिजाईनको काम भइरहेको छ ।
त्यसैगरी, पुल महाशाखा र सडक विभागसहितको प्रतिनिधित्व रहेको उक्त टोलीले यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने वैकल्पिक पुलको स्थलगत सर्भे पनि गरेको छ । उक्त टोलीले भरतपुर २६ क्षेत्रमा नारायणी नदीमा चितवन र नवलपुर जोड्ने पुल निर्माणस्थलको अन्यौल हटाउन घोसरघाट र ठेक्का सम्झौतापछि निकुञ्जका कारण रोकिएको गोलाघाट दुबै क्षेत्रको अवलोकन गरेको छ ।
यस्तै, भरतपुर र माडी ठोरी जोड्ने गरी राप्ती नदीमा निर्माण गर्ने तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुब घाट क्षेत्रको पनि अनुगमन गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको बताइन्छ ।
भरतपुर १ देखि गैंडाकोट जोड्ने बागेश्वरी क्षेत्र, घोसार घाट वा गोलाघाट क्षेत्रबाट नवलपुर जोड्ने नारायणी नदीका दुई र धु्रब घाटदेखि निकुञ्ज जोड्ने राप्तीको एक गरि तीन वटा पुल समेतको स्थलगत अनुगमन गरेको पुल महाशाखाले यी एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जनाएको छ । गोरखापत्रबाट