काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षिय कार्यायोजनाको मस्यौदा तयारीमा मन्त्रालय लागेको बताएका छन्।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकारहरूसँगको संवादमा मन्त्री बस्नेतले ऊर्जा क्षेत्रको विकासका लागि सन् २०३५ सम्मको लक्ष्य निर्धारण गरी उत्पादन, प्रसारण तथा वितरणतर्फको १२ वर्षिय कार्यायोजनाको मस्यौदा तयारीमा मन्त्रालय अहिले लागेको जानकारी दिएका हुन्।
मन्त्री बस्नेतले ढिलोमा २ सातामा विद्युत विधेयक संसदमा छलफलका लागि दर्ता गर्ने तयारी भइरहेको समेत बताए।
उनले मन्त्रिपरिषदबाट विद्युत विधेयकलाई अन्तिम रूप दिएर संसदमा पेश गर्नुपर्ने हुँदा अन्तिम तयारीको काम भइरहेको बताए । ‘मन्त्रालय तहबाट अघिल्लो पटक छुटेका निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने लगायतका केही विषय समेटेर मन्त्रिपरिषदमा पठाउन तयारी भइरहेको छ,’ उनले भने, ‘मन्त्रिपरिषदबाट निर्णय भएपछि छलफलका लागि संसदमा पेश गर्न बढीमा २ साता लाग्नेछ ।’
उनले सुख्खा यामको समेत विद्युत माग आन्तरिक उत्पादनबाटै व्यवस्थापन हुने गरी उत्पादन, प्रसारण, वितरण तथा विद्युत व्यापारको क्षेत्रमा समेत सुधार गर्ने गरी मन्त्रालय कार्ययोजना बनाउन मन्त्रालय लागेको बताए । अहिलेको प्रसारण तथा वितरण प्रणाली सुधारका लागि अहिले निर्माणाधीन उच्च क्षमताका प्रसारण लाइन सम्पन्न गर्ने कार्यलाई युद्धस्तर गर्नका लागि मन्त्रालयले ताकेता गरिरहेको पनि बस्नेतले बताए ।
उनले पछिल्लो ७र८ वर्षमा ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य उपलब्धि हासिल भएपनि समय क्रमसँगै नयाँ समस्या थपिँदै गएकाले मन्त्रालय सबै समस्याको समाधानका लागि अल्पकालिन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढ्न लागेको बताए ।