म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गरेको हो।
कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले बताए। “आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ”, नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ। विसं २०७५ देखि सुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिए।
रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ। यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरेपनि बेँशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो। “हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौं”, लेकगाउँका श्याम पुर्जाले भने, “आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ।”
बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ। नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण सुरु गरेको थियो।
प्रतिमेगावाट रु २० करोडको लागत अनुमान गरिएको रेलेखोलामा बैंकको लगानी पनि जुटेको छ। कूल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ। आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ।
नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए। निलगिरी हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा छ।
माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन सुरु गरेको छ। हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ।