लमजुङ। मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।
मर्स्याङ्दी गाउँपालिका २, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ।
‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरुको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको छ।
कम्पनी संचालक समितिको अध्यक्षमा संविधान सभा सदस्य समेत रहेका जमीन्द्रमान घले रहेका छन् । सदस्यहरुमा चेत बहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन भएका छन्। समितिको प्रमुख सल्लाहकार राप्रपा उपाध्यक्ष समेत रहेका हेमजङ गुरुङ र सल्लाहकारहरुमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन।
जलविद्युत आयोजना निर्माणको लागि कम्पनीले आवश्यक सवै प्रक्रिया थाल्नेछ । आयोजना निर्माणका लाग्ने बजेट ग्रुपले व्यवस्थापन गर्ने मर्स्याङ्दी गाउँपालिका अध्यक्ष समेत रहनुभएका मर्स्याङ्दी ग्रुपका अध्यक्ष अर्जुन गुरुङले बताए ।
उनका अनुसार छिट्टै सवै कानुनी तथा प्रक्रियागत थालनी कम्पनीले अघि बढाउनेछ । ग्रुपका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको बेलामा संविधान सभा सदस्य जमिन्दमान घले र राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले विशेष सम्बोधन गरेका थिए । दुवैजनाले मर्स्याङ्दी गाउँपालिकाको सर्वाङ्गिण विकासको लागि सवै एक हुनुपर्नेमा जोड दिए।
मर्स्याङ्दी गाउँपालिकामा उद्योग व्यावसाय स्थापना गरेर रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा करिब ५ सय जना जोडिएका छन् । उनीहरुले पहिलो किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् । शेयर राख्न अझै पर्याप्त समय र सूजना नपाएको जनगुनासोलाई मध्यनजर गर्दै भदौ १० गतेसम्म समय थप गर्ने निर्णय गरिसकिएको छ ।