वीरगंज। सात जना व्यवसायीको संयुक्त लगानीमा औद्योगिक नगरी वीरगंजमा ८० करोड लगानीमा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण सुरु भएको छ। १३ तल्ले भूकम्प प्रतिरोधात्मक ‘राधे कृपा’ अपार्टमेन्टको निर्माण सुरु भएको हो।
वीरगंजको प्राइम लोकेशन मानिने आदर्शनगरको पानी ट्यांकी चोकबाट ५ सय मिटर दक्षिणमा ९ कठ्ठा जग्गामा अपार्टमेन्ट निर्माण भइरहेको छ। उक्त अपार्टमेन्ट राधे कृपा हाउजिङ एण्ड इनभेष्टमेन्ट प्रालिले निर्माण गरेको हो।
अपार्टमेन्टमा प्रभात रुंगटा, अमित अग्रवाल, मनिष अग्रवाल,पशुपति खण्डेलवाल, रोहित चाचान, सचिन खण्डेलवाल र प्रेम जाटियाको लगानी छ। यी सबै व्यवसायी वीरगंजमा रहेर व्यवसाय गर्दै आएका छन्।
वीरगंजमा सुविधा सम्पन्न अपार्टमेन्टको आवश्यकता देखेर निर्माण गरेको लगानीकर्ता रुंगटाले बताए।उनका अनुसार हिमालयन बिल्डर्सले दुई वर्ष (२०२३ अप्रिल) भित्र परियोजना सकेर हस्तान्तरण गर्ने सहमति भएको छ। हाल १२० जना प्राविधिक तथा कामदारले काम गरिरहेका छन्। अर्का व्यवसायी प्रेम जाटियाका अनुसार भौतिक संरचनामा करिब ५० करोड, फिनिसिङमा २५ करोड र क्लब हाउस र अन्य बन्दोवस्तीमा करिब ५ करोड गरी कुल ८० करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ।
उक्त अपार्टमेन्टमा दुई वटा भवनको टावर हुने छन्। उनका अनुसार अगाडिमा ३३ फ्ल्याट र पछाडिको भवनमा ११ वटा फ्ल्याट हुनेछ। कुल ४४ फ्ल्याटमा २२ वटा ३ बिएचके( बेडरुम हल किचेन) र २२ वटा ४ बिएचके फ्ल्याट हुनेछ भने ३ बिएचकेको क्षेत्रफल २४ सय वर्गफिट रहेको छ भने ४ बिएचकेको क्षेत्रफल ४४ सय वर्गफिट रहेको छ।
अपार्टमेन्टमा क्लब हाउस, जिम, स्वीमिङ पुल, मिनी थिएटर, सामुदायिक भवन, डिर्पाटमेन्टल स्टोर, भ्याक्सिनेशन क्लिनिक, चिकित्सक कोठा, बार्बर रुम, खानेपानी, शौचालय, चौतर्फी ५ मिटर चौडा बाटो र मुख्य बाटो २३ फिट चौडा रहने किसिमले डिजाइन गरिएको छ।