जाजरकोट। जाजरकोटलाई दुई वर्ष भित्र पूर्ण विद्युतीकरण बनाउनको लागि तीन अर्बको ठेक्का सम्झौता गरिएको छ । वितरण प्रणाली विस्तार तथा स्तरोन्नति आयोजना अन्तरगत यो निर्माण कार्यको काम अघि बढेको जनाइएको छ ।
आयोजनाका प्रमुख केशव श्रेष्ठका अनुसार उक्त निर्माण कार्यको लागि सीइपएिल, एसपीआर, टुण्डी जेभीले दुई वर्ष भित्र सक्ने गरी सम्झौता गरेको जानकारी दिए। यदि उक्त रकमबाट केही क्षेत्रको काम बाँकी रहन गएमा नेपाल विद्युतिकरणको आन्तरिक बजेटबाट टेन्डर गरी जिल्लाको सम्पूर्ण घरधुरीमा विद्युतिकरण गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले आयोजना अन्तरगत ७२ किमी ३३ केभी लाइन, १७० किमी ११ केभी लाइन, ३ सय ५५ किमी, ४ सय भोल्ट लाइन विस्तार गरिने जानकारी दिए। त्यस्तै जिल्ला भरिमा १ सय ३५ वटा ट्रान्सफर्मर जडान गरिने जनाइएको छ ।
हाल जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारे कोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सब स्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिमको छेडा गाड, शिवालय र जुन चाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सब स्टेसनबाट काम हुने भएको छ ।
चौखाको सब स्टेसन निर्माणपछि मात्र ताक्सुगाड जलविद्युत आयोजनाको कामसँगै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणमा सघाउ पुग्ने छ । १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधै सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । अहिले चालु अवस्थामा रहेको ३२ केभी प्रसारण लाइन १३२ केभी प्रसारण लाइन विस्थापित हुनेछ ।
१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ । यता ४०० केभी प्रसारण लाइनका लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सब स्टेसनको कामसमेत यसै आर्थिक वर्षमा गर्ने बताएको छ । १३२ केभी प्रसारण लाइन र चार सय केभी प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणको भनाइ छ ।
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका सवै जिल्लामा तिन वर्ष विद्युतिकरण गर्ने लक्ष्य रहेको जानकारी दिए। जाजरकोटको तासुगाड र डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको पनि निर्माण कार्य थालनी गर्ने जानकारी दिए। गाेरखापत्रबाट