काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले १५औं संकरणको ‘नाडा अटो सो २०२३’ यहि भदौ अन्तिम साता हुने भएको छ। नाडाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ६ दिने ‘नाडा अटो सो २०२३’ आयोजना गर्न लागेको जानकारी दिएको हो।
अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा बढेको आयोजकले जनाएको छ ।
अध्यक्ष ध्रुव थापाले दुई वर्षसम्म कोभिड–१९ महामारी तथा आयात प्रतिबन्धका कारण आयोजना हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न लागिएको बताए । उनले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकुल समय नभएको र आर्थिक अवस्था नाजुक भएकाले सवारी साधन बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताए ।
प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ । यो प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने पनि आयोजकले जानकारी दिएको छ ।