काठमाडौं। नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ। बुधबार मन्त्रालयमा यसै विषयमा भएको छलफलबाट के कारणले आयोजना ढिला भए भन्नेबारे नेपाली सेनासँग जवाफ माग्ने गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले अहिले पाँच वटा सडक आयोजनामा काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेका सडकको प्रगति सन्तोषजनक नरहेकाले ती आयोजनाको भौतिक प्रगति के कति कारणले न्यून हुन गयो ? ती आयोजनालाई तीव्रता दिन मन्त्रालयबाट के कस्तो सहकार्य हुन सक्छ ? विषयमा भन्ने नेपाली सेनासँग छलफल गर्ने समेत बताए।
आयोजनाहरूको वर्तमान अवस्था र देखिएका समस्याबारे जानकारी लिन प्रधान सेनापतिलगायत ती आयोजनासँग सम्बन्धित पदाधिकारीलाई भदौ १८ गते मन्त्रालयमा बोलाइने निर्णय भएको छ ।
यसअघि मन्त्रालयले सडक विभाग अन्तर्गत आयोजनामा समय तालिका (टाइम कार्ड) लागु गरे पनि नेपाली सेनाको व्यवस्थापनमा अगाडि बढेका आयोजनामा लागु गर्न सकेको छैन । भदौ १८ गतेको बैठकले सेनाद्वारा सञ्चालित सडक आयोजनामा समेत समय तालिका लागु गर्नेबारे निर्णय गर्ने मन्त्री ज्वालाले बताए। अब ती आयोजनालाई तीव्रता दिन नियमित स्थलगत निरीक्षण गरिने समेत उनको भनाइ छ।
नेपाली सेनाको व्यवस्थापनमा अहिले काठमाडौँ–तराईर/मधेश द्रुतमार्ग, कोशी कोरिडोर, गोरखाको लार्के भन्ज्याङ, कर्णाली कोरिडोरको खुलालु र सलीसल्ला, दार्चुला टिङ्कर सडक निर्माण भइरहेको छ ।