जाजरकोट। कर्णालीका चार जिल्लामा सोलार सिस्टमबाट विद्युतीकरण गर्न लागिएको छ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी) बाट आर्थिक सहयोग लिई कर्णालीका चार जिल्लामा विद्युतीकरण गर्ने लक्ष्य लिएको हो ।
राष्ट्रिय प्रसारणलाइन जोडिँदै गरेका जिल्लाका सबै ठाउँमा एकैपटक विद्युत पुर्याउन मुस्किल भएको भन्दै सोलार सिस्टमबाट पनि विद्युतीकरण गर्न लागेको हो । राष्ट्रिय प्रसारण भर्खरै पुगेर सबै ठाउँमा विद्युत पुर्याउन नसकेको चार जिल्लामा सौर्य सिस्टमबाट पावर जम्मा गरी गाउँगाउँमा विद्युतीकरण गर्ने लक्ष्य रहेको कर्णाली सोलार इनर्जी प्रोजेक्टका प्रोजेक्ट म्यानेजर अभिषेक अधिकारीले बताए ।
डोल्पामा अहिलेसम्म भरपर्दो रूपमा विद्युत सदरमुकाममै नभएको सन्दर्भमा सोलार सिस्टमबाट गाउँगाउँमा विद्युत पठाउने उद्देश्यसमेत यो कार्यक्रमले लिएको छ । पावर सञ्चित गरेर प्रसारण बन्द भएको सन्दर्भमा पनि पावर वितरण गर्नसमेत मद्दत पुग्ने अधिकारीले बताए । अहिले जुम्लाको सदरमुकाममा मुस्किलले राष्ट्रिय प्रसारण पुगे पनि गाउँमा पुग्न सकेको छैन । विद्युत नपुगेका र साना जलविद्युत आयोजना सञ्चालन नभएको ठाउँमा सोलार सिस्टमबाट विद्युतीकरण गरिने उद्देश्य छ ।
गाउँगाउँमा रहेका लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतलाई जम्मा गरी सबै ठाउँमा विद्युत पुर्याउनका लागि अर्को काम यही प्रोजेक्टमार्फत् हुन लागेको हो । यसरी जडान भएका सोलार सिस्टमले कम्तीमा दुई वर्षसम्म राम्रोसँग चल्नुपर्ने उल्लेख गरिएको छ । पाँच वर्षसम्म अनिवार्य रूपमा काम गर्नुपर्ने उल्लेख छ । साविकको कर्णाली अञ्चलभित्र रहेको मुगु, हुम्ला, जुम्ला र डोल्पाका नागरिकले अझै विद्युत अभावमा समस्या भोगिरहेको भन्दै त्यहाँका नागरिकलाई जसरी पनि विद्युत सेवा उपलब्ध गराउने लक्ष्य छ ।
त्यहाँ रहेका नेपाल टेलिकमका टावरदेखि अन्य उपकरण सञ्चालनमा समेत यो विद्युतीकरणले सहयोग पुग्ने अपेक्षा छ । दुई वर्षभित्र कर्णालीलाई विद्युतीकरण गर्ने लक्ष्य रहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले १३२ केभी प्रसारणलाइन समेत निर्माणकार्य जारी रहेको बताए । मन्त्री बस्नेतले भने, ‘जनताका घरमा उज्यालो पुग्नुपर्छ हाम्रो पहिलो सर्त त्यही हो । कर्णालीको मुहार बदल्ने हाम्रो अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’
आर्थिक वर्ष २०८०/०८१ मा सुरु भएको यो प्रोजेक्ट आर्थिक वर्ष २०८२/०८३ मा समापन हुनेछ । कर्णाली इनर्जी प्रोजेक्ट नाम दिइएको यस कार्यक्रमबाट चार जिल्लाका सर्वसाधारणले सेवा पाउने छन् । अहिले यी जिल्लामा स्थानीय लघुजलविद्युत आयोजना तथा सोलारबाट सीमित घरधुरीले विद्युत सेवा लिइरहेका छन् । मुगुमा आठ हजार घरघुरी, जुम्लामा १० हजार, डोल्पामा तीन हजार र हुम्लामा पाँच हजार घरधुरीलाई विद्युत पुर्याउने लक्ष्य छ ।
मुगुको छायानाथ रारा, जुम्लाको चन्दननाथ, डोल्पाको ठूलीभेरी र हुम्लाको सिमकोटमा भण्डारण, पावरको एकीकृत गर्ने स्थान रहेका छन् । राजमार्गसँग जोडिएका कारण यी क्षेत्र रोजिएको छ । त्यस्तै यी क्षेत्रमा केन्द्रीय प्रसारणलाइन पुर्याउनका लागि सबस्टेसनसमेत निर्माण कार्य जारी छ । ३३ र ११ केभी प्रसारणलाइन निर्माण गर्नका लागि एशियाली पूर्वाधार लगानी बैंकले साझेदारी गरेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा रहँदा पनि कर्णालीको विशेष मुद्दामा छmलफल र सम्झौता हुने बताएको छ । कारोबार दैनिकबाट