काठमाडौं। कर्णालीमा इन्धनको आपूर्तिलाई सहज बनाउने उद्देश्यका साथ भण्डारण डिपो निर्माण गरिने योजना अघि सारिएको छ। हाल कर्णालीमा ठूलो क्षमताको भण्डारण डिपो नभएको कारणले गर्दा भण्डारण निर्माण गर्न लागिएको हो। यसले गर्दा एकदिन मात्र इन्धन आपूर्ति नहुँदा कर्णालीमा इन्धनको अभाव हुने गरेको छ। सोही समस्यालाई समाधान गर्नका लागि सुर्खेतमा ६ लाख लिटरभन्दा बढी क्षमताको इन्धन (डिजेलरपेट्रोल) को भण्डारण डिपो निर्माण गर्न लागिएको हो।
६ लाख ४० हजार लिटर क्षमताको भण्डारण डिपो स्थापना गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरको एयरपोर्टस्थित प्रादेशिक कार्यालय परिसरमै उक्सो भण्डारण डिपो निर्माण गरिने भएको छ। यसैगरी सो डिपोमा ४ लाख २० हजार लिटर डिजेल र २ लाख १० हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने छ। सो डिपो निर्माणको कार्य २/३ महिना भित्रमा सुरुहुने नेपाल आयल निगमको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखले जानकारी दिएका छन्।
उक्त डिपोमा सुर्खेतलाई हप्ता दिनसम्म पुग्ने इन्धन भण्डारण गर्न सकिने उनले बताएका छन्। ३ महिनाभित्र शिलान्यास गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ। सो डिपो निर्माणका लागि केन्द्रीय टोलीले स्थलगत अध्ययन गरीसकेको छ। उक्त टोलीले इन्धन डिपो अपरिहार्य रहेको निष्कर्ष निकाल्दै निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ।
छिन्चुमा डिपो स्थापना गर्दा डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यानका जिल्लाहरूलाई सहज हुने र वीरेन्द्रनगरमा डिपो स्थापना गर्दा हुम्ला, मुगु, जुम्ला, कालीकोट र दैलेखलाई सहज हुने भएकाले इन्धन आपूर्तिमा प्रदेशलाई सहज बनाउनका लागि छिन्चु वा वीरेन्द्रनगरमा डिपो स्थापना गर्नुपर्ने ठहर गरिएको थियो। उक्त निष्कर्षका आधारमा निगमले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकासँग जग्गा मागेको थियो। तर, दुबै नगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्ने जनाएपछि निगमले कार्यालय रहेकै स्थानमा मध्यम क्षमताको डिपो स्थापना गर्न लागेको हो। त्यसैगरी कर्णालीमा इन्धनको सहज र दीर्घकालीन आपूर्तिका लागि ठूलो क्षमताको डिपो अनिवार्य रहेको छ।
कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सेवा दिने जहाज तथा हेलिकोप्टरलाई पनि निगमको प्रादेशिक कार्यालयले हाल हवाइ इन्धन वितरण गर्दै आएको छ। अहिले निगमसँग हवाई सेवाका लागि हप्ता दिन पुग्ने क्षमताको डिपो रहेको छ। सुर्खेतमा हाल दैनिक ९० हजार लिटर इन्धन खपत भइरहेको छ।